२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

नेपालबाट डलर लैजान खोज्नेहरुमध्ये चार जनाको पासपोर्ट जफत



काठमाण्डौँ । नेपालबाट डलर विदेश लैजान होटल सोल्टीमा व्यवसायीहरुले गरेको छलफलमा सहभागीमध्ये चार जनाको राहदानी जफत गरिएको छ । नेपाल राष्ट्र बैंकको सूचनाको बर्खिलाप हुनेगरी सोल्टी होटलमा युनाई अरब इमिरेट्सको दुबईमा डलर पर्याउने र त्यहाँको घर जग्गा किन्ने सम्बन्धमा दुई दर्जन व्यवसायीहरुले कडा सुरक्षाबीच कार्यक्रम गरेपछि प्रहरीले चार जनाको राहदानी जफत गरेको छ ।

नेपाल राष्ट्र बैंकले नेपालमा बसेर विदेशमा लगानी गर्न नपाइने प्रचलित कानुनबारे गत साता नेपालका डलर अर्बपतिदेखि नेपाली अर्बपतिहरूलाई सम्झाउँदै सूचना जारी गरेको थियो । आज राहदानी जफत भएकाहरुमा दुबईमा बस्दै आएका भारतीय भएको प्रहरीले बताएको छ ।

बिचौलिया दिपक भट्टको शंकास्पद कारोबारबारे अघिल्लो साता खबर बाहिरिएलगत्तै प्रकाशित बैंकको उक्त सूचनाले विदेश गएर छोराछोरीको विवाहमा करोडौं खर्चने, हुण्डी कारोबारबाट डलर विदेशमै राख्ने र बाहिर कमाएको रकममध्ये सुको यता नल्याउनेलाई झस्काएको बताइएको थियो । तर, आज उनीहरुले खुलमखुल्ला सोल्टीमा विदेशी विनिमय ९नियमित गर्ने० ऐन २०१९ को दफा १० ९क० ले विदेशमा लगानी गर्न प्रतिबन्धित व्यवस्थाको प्रतिकूल हुनेगरी कार्यक्रम गरेका हुन् ।

 

हिजो र आज गर्ने भनिएको कार्यक्रम आज दिउँसोदेखि सोल्टीमा भएको हो । छलफलमा डेढ दर्जन मारवाडी समुदायका व्यवसायी र आधा दर्जन अन्य रहेको सोल्टीको मार्केटिङ विभाग स्रोतले पुष्टि गरेको छ ।

आगामी भ्यालेन्टाइन्स डेको अवसर पारेर संयुक्त अरब इमिरेट्सको दुबईमा घरजग्गा तथा सम्पत्ति प्रदर्शनी हुँदैछ । युएईले विदेशी लगानी भित्र्याउन दुबईमा इन्टरनेशनल प्रोपर्टी शोको नाममा फेबु्रअरी १२ देखि १४ तारिखसम्म इन्टरनेशनल रियल इस्टेट एक्जिबिसन गर्दैछ ।

केन्द्रीय बैंकले नेपालमा बसोबास गर्ने कुनै पनि व्यक्तिले कुनै पनि किसिमले विदेशमा लगानी हुनेगरी कुनै पनि कार्यहरु गर्न नपाउने जानकारी गराउँदा गराउँदै पनि कार्यक्रम आयोजना गरिएको हो । उक्त ऐनमा विदेशमा घरजग्गा खरिद, धितोपत्र खरिद, सम्पत्ति खरिद, विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा गर्नेलगायत पुँजीगत प्रकृतिका कारोबार र सोसम्बन्धी प्रचारप्रसार समेत गर्न नपाइने व्यवस्था छ ।

तर आज ती प्रतिबन्धित कार्यलाई सहयोग पुग्नेगरी सोल्टीमा नेपालमा बसोबास गर्दै आइरहेका व्यवसायीले कार्यक्रम गरेका हुन् । यस सम्बन्धी समाचार जनआस्था साप्ताहिकको गत बुधबारको अंक र जनआस्था अनलाइनमा गत शुक्रबार ‘विदेशतिर पैसा ओसार्न खोज्ने यी वरिष्ठहरु’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  ६ : ५६ बजे