२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

कोइराला समूहका सांसदहरूले गरे विश्‍वासको मत फिर्ताको माग



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको विषयमा नेपाली कांग्रेसमा अन्तरविरोध सुरू भएको छ । सांसदहरूले प्रधानमन्त्रीलाई दिएको विश्वास तत्कालै फिर्ता लिनुपर्ने माग गरेका छन् ।

नेता शेखर कोइराला समूहको आइतबार बिहान बसेको बैठकमा सांसद्हरूले नेतृत्वले त्यसबारे गलत निर्णय गरेको भन्दै सरकारलाई दिएको विश्वासको मत तत्काल फिर्ता लिन माग गरेका छन् ।

बैठकमा नेता शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीहरू जीवन परियार र बद्री पाण्डे, नेताहरू अर्जुननरसिंह केसी, चन्द्र भण्डारी, बलबहादुर केसी लगायत केन्द्रीय सदस्यहरू र सांसदहरू सहभागी थिए । पार्टीको संसदीय दलको निर्वाचनमा महामन्त्री थापाको पक्षमा उभिएका अर्का महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल भने बैठकमा आएनन् । सांसद् सन्तोष चालिसे र केन्द्रीय सदस्य उर्मिला थपलिया भने आइतबारको बैठकपछि कोइराला पक्षमा खुलेका छन् ।

आइतबारको बैठकमा पदाधिकारीहरूले बोलेका छैनन् । तर सांसदहरूले विश्वासको मतको विषयमा प्रश्न उठाएपछि जवाफमा नेता कोइरालाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर पार्टीले गलत कदम चालेको बताए ।

महामन्त्री गगन थापा भने आइतबारको बैठकमा बोलेनन् । बैठकमा कोइराला समूहका सांसदहरूले धारणा राखेका थिए भने संसद्मा प्रभावकारी भूमिका निभाउनुपर्ने विषयमा छलफल भएको थियो ।

बैठकमा उपसभामुखकी उम्मेदवार सांसद मुक्ताकुमारी यादवले प्रधानमन्त्री दाहाललाई दिएको विश्वासको मत तत्कालै फिर्ता लिनुपर्ने बताइन् ।
सांसदहरूले राष्ट्रपतिको निर्वाचनका विषयमा समेत चासो व्यक्त गरेका छन् । प्रधानमन्त्रीलाई विश्वासको मत दिएको विषयमा कांग्रेसमा दुईथरी मत थियो । सभापति शेरबहादुर देउवाले पदाधिकारीहरूसँग छलफल गरेर त्यसबारे निर्णय लिने प्रयास गरेका थिए । तर, पार्टीभित्र त्यसको विरोध भएपछि अन्तिम समयमा कार्यसम्पादन समितिबाट त्यसबारे निर्णय गरिएको थियो ।

महामन्त्री गगन थापा, अर्का महामन्त्री विश्वप्रकाश शर्मा, नेताहरू प्रकाशमान सिंह, अर्जुननरसिंह केसी र प्रदीप पौडेलले प्रधानमन्त्रीलाई विश्वासको मत दिनु गलत हुन्छ भनेर त्यसबेला फरक मत राखे पनि त्यो सार्वजनिक खपत्‍को विषयमात्रै रह्यो । पार्टीले हृवीप लगाएपछि उनीहरूले नै प्रधानमन्त्रीलाई विश्वासको मत दिए ।

सभापति देउवाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर सभामुख र उपसभामुखको निर्वाचनमा फरक समीकरण बनाउन प्रयास गरेपनि त्यो सफल भएको छैन । अब नेताहरू राष्ट्रपतिको निर्वाचनमा परिणाम आउने अपेक्षा रहेको बताउँछन् ।

बैठकपछि नेता चन्द्र भण्डारीले दाहालबाटै धोका भएको अवस्थामा उनलाई नै विश्वासको मत दिनु गलत कदम भएको बैठकको निष्कर्ष रहेको बताए । ‘

उनले बैठक मंगलबार पनि बस्ने र राष्ट्रिय राजनीतिमा अहिले कांग्रेसको पोजिसन र भावी रणनीतिका विषयहरूमाथि छलफल हुने बताए । ‘जताजतै कांग्रेसको राजनीतिक कदमलाई लिएर अष्पष्टता छ ।

आइतबारको बैठकमा उपसभापति धनराज गुरुङले संसदीय दलको नेताको निर्वाचनमा देखिएको शक्ति संघर्षप्रति व्यंग्य गर्दै आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार घोषणा गरेर अघि बढ्नुपर्ने बताए ।

पार्टीको १४ औँ महाधिवेशन सकिएको एक वर्षमात्रै बित्दैछ । उपसभापति गुरुङले आगामी महाधिवेशनमा पनि सभापतिको उम्मेदवारकारुपमा शेखर कोइरालालाई नै अगाडि सानुपर्ने बताए । ‘म उपसभापति छु, गगनजी महामन्त्री हुनुहुन्छ,’ उनले भने, ‘भोलि म मा पनि महात्वाकांक्षी चढ्न सक्छ, गगनजीलाई पनि त्यस्तो लाग्न सक्छ, त्यसैले अहिले नै सभापतिको उम्मेदवार घोषणा गरेर अघि बढौँ ।’

तर, गुरुङले हलमा त्यस्तो प्रस्ताव गर्दा सन्नाटा छाएको थियो । यसअघि संसदीय दलको निर्वाचनमा उम्मेदवार चयन गर्दा नै उपसभापति गुरुङसहित नेताहरूले कोइरालालाई आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार बनाउने सहमतिमा मात्रै थापालाई संसदीय दलको उम्मेदवार बनाउन सकिने शर्त राखेका थिए । त्यसबेला थापाले पनि त्यो शर्तमा सहमति जनाएको नेताहरूको भनाइ थियो । यसबारे थापा भने आइतबारको बैठकमा केही बोलेनन् ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  ५ : ५७ बजे