२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

लाइसेन्स र ब्लुबुक नागरिक एपमा देखाउँदा ट्राफिक प्रहरीले किन मान्दैनन् ? यस्तो छ कारण



काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले नागरिक एपमा सवारी लाइसेन्स र ब्लुबुक देखाउँदा मान्य नहुने कानुनी व्यवस्था बारे स्पष्ट पारेको छ ।

एक विज्ञप्ती जारी गर्दै ट्राफिक प्रहरीले सवारी नियम उल्लंघन गरेमा कारवाही गर्नको लागि अनिवार्य सक्कल कागजात लिएर मात्र २४ घण्टे पुर्जी जारी गरिने भएकोले नागरिक एपमा हरेकै भरमा पुर्जी जारी गर्न नसकिने जानकारी दिएको हो ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १३१ बमोजिम यातायात निरीक्षक वा प्रहरीले जाँचबुझको सिलसिलामा कुनै सवारी चालकको सवारी चालक अनुमति पत्र, सवारी दर्ता किताब र सवारी इजाजत पत्र हेर्न खोजेमा देखाउनु पर्ने व्यवस्था रहेको छ ।

सोही ऐनको दफा १६४ को १९न० मा सवारी चालक अनुमति पत्र साथमा नराखी सवारी चलाएमा कसुर मानिने व्यवस्था रहेको र सोही ऐनको दफा ६० अनुसार ५ पटक भन्दा बढी सवारी नियम उल्लंघन गर्ने चालकको सवारी चालक अनुमति पत्र अधिकार प्राप्त अधिकारीले ६ महिना सम्मको लागि निलम्बन गर्न सक्ने व्यवस्था छ ।

निलम्बनमा रहेको सवारी चालक अनुमति पत्र सम्बन्धी जानकारी नागरिक एपबाट नहुने र सवारी नियम उल्लंघन गरेमा कारवाही गर्नको लागि अनिवार्य सक्कल कागजात लिएर मात्र २४ घण्टे पुर्जी जारी गरिने भएकोले नागरिक एपमा हेरेकै आधारमा २४ घण्टे पुर्जी जारी गर्न नमिल्ने भएकोले सवारी चालकले सवारी चालक अनुमतिपत्र लगायत सवारीसंग सम्बन्धित कागजातहरु अनिवार्य रुपमा साथमै राखि सवारीसाधन चलाउनु पर्ने जनाइएको छ ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ११ : ४० बजे