४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

विश्वप्रकाश र योगेशको सदनमा जुहारीः माया गर्ने मुटुले हो निधारले होइन



काठमाडौं । प्रधानमन्त्रीलाई दिएको विश्वासको मतलाई लिएर नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरुबीच जुहारी चलेको छ ।

प्रतिनिधिसभामा बिहीबार सभामुखको निर्वाचन हुँदैछ । सत्ता गठबन्धनबाट एमालेका देवराज घिमिरे उम्मेदवार छन् कांग्रेसले ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाएको छ । कांग्रेस र एमालेका सांसदहरुले आफ्ना उम्मेदवारलाई मत मात्र मागेनन्, एकाअर्कामाथि आरोप प्रत्यारोप समेत गरेका छन् ।

कांग्रेस सांसदहरुले प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको टिप्पणीको प्रतिवाद गरेका छन् । ओलीले त्यसबेला कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर ढोक्सा थापेको हो भने त्यसमा माछा नपर्ने बताएका थिए ।

न्यौपानेका प्रस्तावक एवं कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले ओलीको प्रतिवाद गर्दै भने, ‘हामीले ढोक्सा थापेका छैनौं, माछालाई जालमा पार्न योजना पनि छैन । तर माछा र ढोक्साको कथा हालेर कसिलो पिँजडा नबनाउन आग्रह गर्छु ।’

आफू प्रधानमन्त्री भएको बेला उच्चस्तरीय राजनीतिक संयन्त्र बनाऔं भन्दा संविधानले दिँदैन भनेका ओलीले प्रचण्ड प्रधानमन्त्री हुँदा संयन्त्रको नेतृत्व लिएकोतर्फ संकेत गर्दै शर्माले भने, संविधानले नचिनेको उच्चस्तरीय संयन्त्र बनाउनु भनेको देशको प्रधानमन्त्रीलाई पिँजडामा राख्न खोज्नु हो ।’

कांग्रेस सांसद विमलेन्द्र निधिले आफूहरुले विश्वासको मत दिँदा एमाले अध्यक्ष दुःखी हुनुको अर्थ के हो भनेर प्रश्न गरेका छन् ।

एमालेका सचिव योगेश भट्टराईले कांग्रेस नेताहरुलाई जवाफ फर्काएका छन् । मनबाटै विश्वासको मत दिएको होला भन्ने लागेको भएपनि अहिले राजनीतिक टिकाटिप्पणी भइरहेको भन्दै उनले भने, ‘कतै त्यो विश्वासको मत जानुपर्ने अर्कातिर, लगाएको आँखा अर्कातिर हो कि भन्ने आभास भइरहेको छ ।’

चुनावअघि बनेको कोर्स ९कांग्रेस नेतृत्वको गठबन्धन० अगाडि जाँदासम्म आफूहरु प्रतिपक्षमा बस्न तयार भएको उनले स्मरण गरे । पुस १० गते अपराह्न राजनीतिको कोर्स बदलिएको भन्दै उनले उनले भने, ‘त्यसअघि हामीले सभामुख पनि मागेनौं, राष्ट्रपति पनि मागेनौं । हाम्रो दल प्रतिपक्षमा बस्छ भनेका थियौं ।’

तर अहिले संसदमा लिने र दिनेको प्रसंग उठेको भन्दै उनले कांग्रेस धेरै लिने र एमाले दिनेमा पर्ने बताए । २००८ सालमा कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउँदा पनि कांग्रेसकै प्रधानमन्त्री भएको स्मरण गर्दै एमाले सचिव भट्टराईले भनेका छन्, ‘यो सम्झिन त मन थिएन, साथीहरु पुरानो गीत गाउनुभयो । हामी पनि गीत सम्झिऊँ भनेर मात्र सम्झिएको हुँ ।’

बिहीबार विहान मात्र प्रमोद खरेलको गीत माया गर्ने मुटुले हो, निधारले होइन भन्ने सुनेको भन्दै भट्टराईले भने, ‘यदि प्रधानमन्त्रीज्यूलाई विश्वासको मत मुटुले दिएको हो भने देवराज घिमिरेले पनि त्यो मत प्राप्त गर्नुपर्छ । यदि त्यो निधारतिर हो भने त्यसमा केही भन्नु छैन ।’

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  १ : ४६ बजे