२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

नखुल्ने बनाइयो श्रम मन्त्री अर्याल जोडिएको कम्पनीको वेबसाइट



काठमाडौँ । श्रम तथा रोजगार मन्त्री डोलप्रसाद अर्याललाई अन्तर्राष्ट्रिय बजार निर्देशक बनाएको सृष्टि ओभरसिजले हाल कम्पनीको वेबसाइट नै नखुल्ने बनाएको छ।

म्यानपावर व्यवसायमा संलग्न रहेका अर्याललाई श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी दिइएको भन्दै चौतर्फी आलोचना भएपछि उक्त कम्पनीले वेबसाइट नै नखुल्ने बनाएको हो।

कम्पनीको वेबसाइट नखुल्ने बनाए पनि फेसबुक पेजको कभर फोटोमा भने अर्यालको फोटो अझै पनि भेटिन्छ। अर्याल स्वयंले म्यानपावर क्षेत्रमा आफ्नो संलग्नता स्वीकार गरेका छन्।

‘सन् २००३ देखि नै म म्यानपावर क्षेत्रमा संलग्न छु। नेपालीहरूका लागि जापानमा रोजगारसम्बन्धी निर्देशिका बनाउन मैले नै सहयोग गरेको छु,’ मन्त्री अर्यालले बुधबार दिउँसो सेतोपाटीसँग भने, ‘राजनीतिमा आउनु अघिसम्म म्यानपावरहरूमा कन्सल्टिङ सेवा दिइरहेको हुन्थें। सल्लाह सुझाव दिनका लागि म त्यहाँ जाँदा साथीहरूले फोटो खिचेर राखेको हुनुपर्छ।’

अर्याल १५ वर्षभन्दा बढी जापान बसेका हुन्। उनले पुतलीसडकमा जापानी भाषा पढाउने संस्था पनि खोलेका थिए। अर्यालले धेरै मानिसलाई रोजगारीका लागि जापानसमेत पठाएका छन्।

‘उहाँ मेरो आफन्त हो। म्यानपावर व्यवसायमा संलग्न हुनुहुन्छ कि हुनुहुन्न भन्ने थाहा छैन। तर धादिङका धेरैलाई उहाँले जापान पठाउनु भएको छ,’ धादिङ ज्वालामुखी गाउँपालिका(२ का पौष तिवारीले भने।

तिवारीका अनुसार अर्यालकी श्रीमती अम्बिका पनि म्यानपावर क्षेत्रमा क्रियाशील छिन्।

‘पहिले उहाँ म्यानपवारमा जागिरे हुनुहुन्थ्यो। लगानीका विषयमा भने मलाई जानकारी छैन,’ तिवारीले भने।

यद्यपी मन्त्री अर्यालले भने म्यानपावरमा श्रीमती र आफ्नो पनि लगानीनै नरहेको दाबी गरेका छन्।

‘मेरो श्रीमतीलाई म्यानपावरको म पनि थाहा छैन। म्यानपावरमा हाम्रो कतै लगानी छैन,’ अर्यालले भने।

राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी अभियानका क्रममा ‘जान्नेलाई छान्ने’ नारा बनाएको थियो। पार्टीले विज्ञताका आधारमा मन्त्री छान्ने निर्णय गरेकाले अर्याललाई श्रम मन्त्रालयको जिम्मेवारी दिइएको प्रवक्ता मुकुल ढकालले बताए।

‘पार्टीले विज्ञताका आधारमा मन्त्री छान्ने निर्णय गरेको थियो। श्रम तथा रोजागार क्षेत्रमा उहाँका काम र क्रियाशीलता हेरेरै उहाँलाई मन्त्री बनाइएको हो,’ ढकालले भने।

मन्त्री अर्यालले पनि श्रम तथा रोजगार क्षेत्रमा आफ्नो विज्ञता रहेको दाबी गरेका छन्।

‘म स्वयंमले विदेशमा पनि रोजागर गरें। विभिन्न कम्पनी खोलेर रोजगार पनि सिर्जना गरेको छु। अब नेपालमा रोजगारी सिर्जना गर्ने र वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन म नीति बनाउँछु,’ उनले भने।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र आफूबीच पहिलेदेखि नै मित्रता रहेको अर्यालले बताएका छन्।

पाँच वर्षअघि रवि एक कार्यक्रममा जापान जाँदा उनीहरूबीचको सम्बन्ध थप घनिष्ठ बन्न पुग्यो। त्यसपछि, अर्यालले लामिछानेलाई आफ्नो रेमिट्यान्स कम्पनी इजी लिंकको ब्रान्ड एम्बेस्डर बनाए। रास्वपा गठनमा उनी लामिछानेसँगै सक्रिय बने।

अरू विभिन्न व्यवसायमा पनि संलग्न अर्याल रास्वपाको समानुपातिकको सूचीबाट सांसद हुँदै मन्त्री बन्नसमेत सफल भए।

‘सभापति र म पुराना मित्र हौं। रास्वापा गठनमा मेरो पनि महत्वपूर्ण भूमिका छ। मित्रताको हिसाबले मात्रै होइन मेरो विज्ञता योगदानले मैले अवसर पाएको हुँ,’अर्यालले भने।

रास्वपा सभापति समेत रहेका गृहमन्त्री लामिछाने र अर्याल विवादमा तानिनुको कारण हो, स्वार्थ द्वन्द्व। दोहोरो नागरिकताका विषयमा गृह प्रशासनको छानबिनमा रहेका लामिछाने गृह मन्त्री बने।

म्यानपावर क्षेत्रमा संलग्न अर्यालले श्रम मन्त्रालयको जिम्मेवारी सम्हाले।

अर्यालले स्वार्थको द्वन्द्व नझल्किने गरी परिणामुखी काम गर्ने दाबी गरे।

‘हाम्रो पार्टीको प्राथमिकता नेपालमा रोजगारी सिर्जना गर्ने र वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने भन्नेछ। स्वार्थ नबाझिनेगरी ढंगले कार्यसम्पादन गर्दै रोजगारी सिर्जनामा परिणामुखी काम गर्ने मेरो योजना छ,’ उनले भने। सेतोपाटीबाट

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ४ : २९ बजे