४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

माओवादी केन्द्रकी यशोदा न्यौपाने बनिन् कर्णाली प्रदेश सभा उपसभामुख



कर्णाली । कर्णाली प्रदेश सभाको उपसभामुख नेकपा माओवादी केन्द्रकी यशोदा न्यौपाने निर्वाचित भएकी छन्। कर्णाली प्रदेश सभा नियमावली, २०७९ को नियम ९ अनुसार आज भएको उपसभामुखको निर्वाचनमा उनी २४ जना सांसदको मतसहित निर्वाचित भएकी हुन्।

न्यौपाने कालीकोटबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य हुन्। उनलाई नेकपा एमालेका ९ जना सहित, माओवादी केन्द्रका १३, राप्रपाका १ र नेकपा ९एस० का एक जना सांसदले मत दिएका छन्।

कर्णाली प्रदेशको उपसभामुख पदका लागि नेपाली कांग्रेसबाट इन्द्राकुमारी शाही उम्मेदवार थिइन्। उनलाई कांग्रेसका १४ जना सांसदले मत दिएका छन्।

कर्णाली प्रदेश सभामा रहेका ४० जना सांसदमध्ये एक जना स्वतन्त्र छन्। उनी सभामुख र उपसभामुखका दुवै निर्वाचनमा तटस्थ बसेका छन्।

यसअघि सभामुखमा एमालेको उम्मेदवार हुँदा नेपाली कांग्रेसलाई समर्थन गरेको नेकपा ९एस० ले उपसभामुखमा भने माओवादीलाई समर्थन गरेको छ।

कर्णाली प्रदेशमा सभामुख र उपसभामुख दुवै महिला भएका छन्।

संघीयतापछि कर्णाली प्रदेशको सभामुख बनेकी नन्दा गुरूङ प्रदेशको इतिहासमा पहिलो महिला सभामुख हुन्।

यसअघि पहिलो कार्यकालमा कर्णाली प्रदेशमा नेकपा एमालेका राजबहादुर शाही सभामुख थिए भने माओवादी केन्द्रका पुष्पा घर्ती विष्ट उपसभामुख थिइन्।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ३ : २१ बजे