२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

भ्रष्टाचारको ‘अखडा’ मायादेवी साझेदारी बनको कर्तुत १ः तस्करी नियन्त्रणमा लाचार



कपिलवस्तु, ४ माघ । कपिलवस्तु साझेदारी वन व्यवस्थापन समिति सर्वाेत्कृष्ट साझेदारी वन राष्ट्रिय पुरस्कार २०७५।०७६ वाट सम्मानित भएको छ । वन तथा वातावरण मन्त्रालय वन तथा भु–सरंक्षण विभागले उक्त सर्वाेत्कृष्ट साझेदारी वन राष्ट्रिय पुरस्कार २०७५।०७६ बाट सम्मानित गरिएको हो ।कपिलवस्तुको मायादेवी साझेदारी बनमा बन व्यवस्थापनको नाममा वेथिति बढ्दो छ । बन व्यवस्थापन गर्ने भन्दै बार्षिक करोडौ बजेट विनियोजन र खर्च गर्दै आएको साझेदारी बनका पदाधिकारीहरु कमाउ धन्धामा मात्र लागेका छन् ।

काठको अवैध चोरी तस्करी नियन्त्रण त के १० बर्ष पुग्दा समेत अतिक्रमण सम्म व्यवस्थापन गर्न सकेको छैन । २०६९ सालमा स्थापना भएको यस साझेदारी बनको संयोजक बनेका अजिज खाँनले यसको नेतृत्व गरेको १० बर्ष पुग्यो, कार्ययोजना अनुसार ९ बर्ष काम भयो तर रुख काट्ने र फाईदा लिने बाहेकको बन र समुदायमा भने कुनै परिवर्तन देखिएको छैन । समितिले बैज्ञानिक बन व्यवस्थापनको कार्ययोजना सकिए लगत्तै प्रदेश र संघिय बन नियमावली अनुसार दिगो व्यवस्थापन भन्दै पुनः त्यहि बन सम्र्बद्धन प्रणाली लागू गरेको छ । जुन प्रणालीमा कर्मचारी र बनका पदाधिकारी मोटाउने र राज्य दुव्लाउने नीति छ ।

हामीले मायादेवी साझेदारी बनमा भएका वेथिति बारे स्थलगत अध्ययन नै गरेर ५ वटा रिर्पोट बनाएका छौ । जसलाई श्रंखलाबद्ध रुपमा प्रस्तुत गर्नेछौ । यस वनका कर्तुतहरुमध्ये आजको पहिलो श्रृङखलामा अतिक्रमण व्यवस्थापन र काठ तस्करी नियन्त्रणमा लाचार बनेकोबारे खुलासा गर्दै छौँ ।

अतिक्रमण व्यवस्थापन र काठ तस्करी नियन्त्रणमा लाचार 

राष्ट्रिय बनलाई संरक्षण गर्दै बनको बैज्ञानिक व्यवस्थापन गर्ने भन्दै १० बर्ष अघि सुरु गरिएको मायादेवी साझेदारी बन व्यवस्थापनको सबैभन्दा मुख्य कार्य थियो बन अतिक्रमण व्यवस्थापन तथा चोरी तस्करी नियन्त्रण । तर साझेदारी बनका अध्यक्ष बनेका अजिज खाँन यस झन्झटिलो काममा भन्दा काठ काट्ने र उपभोक्ताको नाममा स–मिललाई बेच्ने, टेन्डरमा सेटिङ्ग मिलाउने तर्फ तल्लीन भए । आ.ब. २०७६÷७७ मा तत्कालिन सहायक बन अधिकृत प्रकाश ठाकूर र संयोजक अजिज खाँन मिलेर उपभोक्ताको नाममा करिब १३ सय क्यूफिट काठ व्यापारीलाई दिने प्रकृयामा थिए । तर ठाकूर विरामी भएलगत्तै निधन भएपछि व्यवसायीले रकम माग गर्दा ठूलै विवाद सिर्जना भएको समितिका एक सदस्यले बताए । पछि उक्त घटनालाई अरु ढंगबाट मिलाइएको थियो ।

मायादेवी साझेदारी बन क्षेत्रको कुल १ हजार ७ सय हेक्टर क्षेत्रफल मध्ये तल्लो पटना ब्लकमा १ हजार र माथिल्लो पिपरा ब्लकमा ७ सय हेक्टर बन क्षेत्र छन् । तल्लो पटना ब्लकमा साझेदारी बनले बर्षेनी बन अतिक्रमण व्यवस्थापनका नाममा बजेट छुट्याउछ । गत आ.ब. ०७८÷७९ मा पनि अतिक्रमण व्यवस्थापनमा १५ लाख, अतिक्रमण सुरक्षा परिचालनमा ६ लाख ५० हजार तथा ट्रेन्च, डिर्माकेशनमा ५ लाख ५० हजार खर्च गरिएको थियो ।

तर अहिले पनि त्यहा जंगल भित्रै धान खेती भइरहेको छ । पटना, बालापुर,बरवा, दानापुर क्षेत्रमा साझेदारी बन भित्रै रुखका बिचमा धान खेती भएका थिए, अहिले पनि त्यहा विभिन्न खेती भइरहेका छन् । बन कर्मचारी श्रोतका अनुसार स्थानीयले खेती गर्दा साझेदारी बनका अध्यक्ष अजिज खाँनको मौन सर्मथनले समस्या सिर्जना भएको हो । ‘यहाँ पहिले देखि नै खेती हुन्छ, त्यसैले त रुख वरिपरि सालको विरुवा पुनरुत्पादन हुन पाउदैन’ उनले भने । अधिकांश अतिक्रमण व्यवस्थापन तथा सुरक्षा परिचालन खर्च भत्ता, खाजा खानामै जाने गरेको समितिकै एक सदस्यले भने ।

रुपन्देही जिल्ला संग सिमाना भएको यस साझेदारीमा अहिले पनि चोरी निकासी हुदै आएको छ । संयोजक खाँनले बनमा हुने अवैध क्रियाकलाप रोक्न बजेट विनियोजन गर्ने र खर्च गर्ने भएपनि तस्करी भने नरोकिएको कर्मचारीहरुकै दाबी छ । जिल्लाकै सबै भन्दा बढि मायादेवी साझेदारी बनको करिब ५ सय हेक्टर बन क्षेत्र अतिक्रमणको चपेटामा छ भने २ सय हेक्टर बन क्षेत्र भित्रै खेती गरिन्छ ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  २ : ४९ बजे