२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

बिजुली गाडीको युगमा इतिहास बन्न सक्छन् पेट्रोल र डिजेल सवारी



काठमाण्डौँ । तपाईंको घरको कम्पाउन्ड होस् वा कार्यालयको पार्किङ गाडी बिजुलीबाट चार्ज भइरहेको छ, सँगै मोटरसाइकल होस् वा स्कुटर ।

पूर्वपश्चिम राजमार्ग होस् वा उत्तर दक्षिण चल्ने सवारीसाधन कोही पनि पेट्रोल पम्पमा इन्धन भर्न लाइन बस्ने छैनन् ।

भारत वा चीनबाट आयात तथा निर्यात भइरहेका वस्तु ओसारपसारमा प्रयोग भइरहेका ट्रक हुन् वा साना ठूला मालवहाक सवारीसाधन सबै बिजुलीबाट चार्ज हुनेछन् ।

यी सबै देख्न केही वर्ष भने पर्खिनुपर्ने हुन्छ । अहिले नै काठमाडौंसहित मुलुकका प्रमुख सहरमा प्रशस्तै विद्युतीय गाडी प्रयोगमा छन् भने ठूला सवारीसाधन पनि सञ्चालनमा आइसकेका छन् ।

तर अहिले नै पेट्रोल होस् या डिजल गाडीलाई प्रतिस्थापन गरिसकेका भने छैनन् ।

तर ग्राहकलाई अझै विद्युतीय सवारीसाधनप्रति विश्वास बढेको छैन । खास गरेर ब्याट्री तथा त्यसको आयुको कारण ग्राहकको विश्वास अझै ‘इलेक्ट्रिक भेहिकल’मा बढेको छैन । तर अटो निर्माता कम्पनीहरूले ईभीमा गरेको अनुसन्धान र लगानीले अब पेट्रोल र डिजेलबाट चल्ने गाडी अब इतिहासमा सीमित हुने संकेत देखिएको छ ।

भारतको नोयडामा चलिरहेको ‘अटो एक्स्पो’मा गाडी निर्माताले विद्युतीय सवारीसाधनलाई प्राथमिकतामा राखेको पाइयो ।

ठूला होस् वा साना सवारी सबैको ध्यान अब बिजुली गाडीमै छ । दुई पाङ्ग्रेदेखि ठूला सवारीसाधन आगामी दशकभित्रै विद्युतीयमा जाने देखिएको छ ।

भारतमा सन् २०२२ मा १० लाख विद्युतीय सवारीसाधन बिक्री भएका थिए ।

सन् २०३० सम्म विद्युतीय सवारीको बजारको आकार नै ११३ अर्ब अमेरिकी डलर पुग्ने अनुमान छ । जुन अहिले ३ अर्ब डलरको हाराहारीमा छ ।

दुई वर्षदेखि कोभिडको कारण रोकिएको भारतको सबैभन्दा ठूलो अटो एक्स्पोमा सबैको आकर्षण नै विद्युतीय सवारी साधनमा देखिएको थियो ।

गाडी निर्माताको प्राथमिकता ईभीमा देखिएको छ । भारतमा सबैभन्दा बढी बिक्री हुने सुजुकीले पहिलोपटक ईभीको कन्सेप्ट कार इभिएक्स सार्वजनिक गरेको छ ।

फूल चार्जमा ५५० किलोमिटरसम्म चल्ने भनिएको ईभिक्स सन् २०२५ सम्म बजारमा उपलब्ध हुनेछ । सुजुकीले अब ईभीको लागि मात्र एक खर्बभन्दा बढी लगानी गर्ने योजना बनाएको छ ।

भारतीय बजारमा लोकप्रिय रहेको टाटाको नेक्सन तथा टिगोरमा ईभीलाई बजारमा ल्याइसकेको छ ।

अटो एक्स्पोमा टाटाले कर्भ एसयूभी ईभी, अभिन्या सियारा ईभी सार्वजनिक गरेको थियो । बजारमा आउने तयारीमा रहेको टाटा टियागो पनि एक्स्पोमा आकर्षक देखिएको थियो ।

टाटाले कमर्सियल सेग्मेन्ट बस तथा ट्रक समेत ईभीमा सार्वजनिक गरेको छ । यसले आगामी दिनमा टाटा पूर्णरुपमा विद्युतीय सवारी साधनमा केन्द्रित हुन खोजेको देखिन्छ ।

कियाले ईभी ९ र के ९ कन्सेप्ट कार सार्वजनिक गरेको छ ।

दुई वर्षपछि कियाको गाडी बजारमा आइपुग्ने छ । यस्तै हुन्डाई मोटरले आयोनिक ५ पछिल्लो संस्करण एक्स्पोमा सार्वजनिक गरेको छ । सिंगल चार्जमा ६३१ किलोमिटरसम्म आयोनिक ५ गुड्न सक्ने छ ।

प्रिमियम ब्रान्ड मानिएको लेक्सस एलएफ ३० तथा एलएफ जेडको कन्स्सेप्ट कार सार्वजनिक गरेको छ । यस्तै टोयोटा मोटरले अटो एक्स्पोमा पहिलो विद्युतीय गाडी बीजेड फोर एक्स सार्वजनिक गरेको छ ।

अटो एक्स्पोमा सवारी निर्माण कम्पनीले विद्युतीयमा दिएको प्राथमिकताले अब सवारीमा पेट्रोल तथा डिजेल युगलाई छिटै अन्त्य गर्ने संकेत गरेको छ ।

ईभी प्राथमिकता चार पाङग्रे सवारी साधनमा मात्र छैन । दुई पांग्रेमासमेत जोड दिइएको छ । बजाज मोटरसाइकलले चेतक ब्रान्डको स्कुटर एक्स्पोमा राखेको थियो ।

दुई पाङ्ग्रेमा नयाँ स्टार्टअप कम्पनीहरूले ईभीलाई प्राथमिकता दिएर आफ्नो उत्पादन केन्द्रित गरेको देखिन्थ्यो ।

भारतमा विकसित भएका अटोमोबाइल्स नेपाली बजारमा आउने हो । नेपालको लागि यसरी विकसित भएको ईभीले भने धेरै कुराको फाइदा दिने छ ।

पैसाको बचतसँगै वातावरण प्रदुषण हुनबाट रोकिने छ । अहिले नेपालले वार्षिक तीन खर्ब खर्बभन्दा बढी रूपैयाँ पेट्रोलियम पदार्थको आयातको लागि खर्च गर्दै आएको छ ।

गाडी आयातको लागि विदेशिने पैसा त्यसमाथि त्यो चलाउनको लागि पेट्रोलियम पदार्थको आयातको लागि विदेशिने पैसाले बेलाबेला शोधनान्तर स्थिति ऋणात्मक हुने गर्छ । तर पछिल्लो ईभीमा गाडी निर्माण कम्पनी केन्द्रित हुँदै जाँदा नेपालको लागि फाइदा हुने हुन्छ ।

नेपालमा बिजुलीबाट चल्ने गाडी बढी भएमा पेट्रोल आयातको लागि खर्च हुने पैसा जोगिन्छ भने वातावरणको समेत संरक्षण हुन्छ ।

यो पटक भारतको अटो एक्स्पोले देखाएको संकेत अब विस्तारै ईभी युगमा अटो प्रवेश गरेको र गाडीको लागि डिजेल र पेट्रोलको समय सकिएको संकेत दिएको छ ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  १२ : ०२ बजे