६ मंसिर २०८१, बिहिबार | Fri Nov 22 2024

सुदूरपश्चिमको सभामुखमा नागरिक उन्मुक्तिले माओवादीलाई मत दिने



धनगढी । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशसभाको सभामुखमा सत्ता गठबन्धनका उम्मेदवारलाई मतदान गर्ने भएको छ ।

यसअघि नागरिक उन्मुक्ति पार्टीले मतदान नगर्दा सभामुखमा सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका भीम भण्डारी र कांग्रेसका उम्मेदवार मानबहादुर रावल दुबैले बहुमत ल्याउन असफल भएका थिए ।

सोमबार नागरिक उन्मुक्ति पार्टीको सुदूरपश्चिम प्रदेशसभा बैठकमा अध्यक्ष रञ्जिता श्रेष्ठले माओवादी केन्द्रका उम्मेदवार भण्डारीलाई मतदान गर्न निर्देशन दिएकी हुन् । अनलाइनखबरसँगको कुराकानीमा उनले सभामुखमा सत्ता गठबन्धनका उम्मेदवारलाई मत दिने बताइन् ।

सुदूरपश्चिम प्रदेशभामा ३० पुसमा सभामुख चयनका लागि भएको मतदानमा नागरिक उन्मुक्ति पार्टीका सांसद तटस्थ बस्दा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन सकेनन् । सोमबार पुनस् मतदान गर्ने कार्यसूची भएपनि राष्ट्रिय शोकका कारण बैठक बस्न सकेन ।

अब अर्को बैठक मंगलबार विहान १० बजेलाई तोकिएको छ ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ७ : ५७ बजे