२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

जसले बनाए पाखुरामा इन्स्योरेन्स कम्पनीको लोगो अंकित ट्याटु



काठमाण्डौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ता राजु भण्डारीले आफ्नै पाखुरामा नेपाल लाइफको लोगो अंकित ट्याटु बनाएका छन् । नेपाल लाइफको इतिहासमै पहिलो पटक अभिकर्ता भण्डारीले कम्पनीको लोगोलाई चिनाउन ट्याटु बनाएका हुन् ।

ताप्लेजुङ्ग जिल्लाका अभिकर्ता भण्डारीले बनाएको ट्याटुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले सार्वजनिक गरेका छन् । ट्याटु सार्वजनिक कार्यक्रममा कम्पनीका सिइओ पराजुली सहित नायव प्रमुख कार्यकारी अधिकृत अमित कयाल, डेपुटी जनरल म्यानेजर उमापति पोख्रेल, वरिष्ठ प्रबन्धक द्वय प्रेम रेग्मी र बिनोद भुजेल लगायत बिभागिय प्रमुखहरुको उपस्थिति थियो ।

बीमा ऐन २०७९ मा एक जना अभिकर्ताले एउटा मात्रै बीमा कम्पनीको काम गर्न पाउने व्यवस्था गरेको छ । यहि व्यवस्था अनुसार नेपाल बीमा प्राधिकरणले एउटा मात्रै बीमा कम्पनीको अभिकर्ता बन्न निर्देशन दिइसकेको छ । यसरी ऐनमै एउटा मात्रै बीमा कम्पनीको अभिकर्ता बन्न पाउने व्यवस्था गरे पछि अभिकर्ता राजु भण्डारीले आफु नेपाल लाइफको मात्रै अभिकर्ता भएको भन्दै दीर्घकालिन चिनारीको लागि आफ्नै पाखुरामा ट्याटु खोपाएका हुन् । यसरी ट्याटु बनाउदा आफुलाई सबैले नेपाल लाइफको अभिकर्ता भनेर चिन्ने उनको तर्क छ ।

भण्डारी नेपाल लाइफको ताप्लेजुङका अभिकर्ता हुन् । उनि सन् २०२३ का लागि एमडिआरटीमा चयन हुन सफल भएका छन् । नेपाल लाइफ जीवन बीमा कम्पनीहरु मध्ये अग्रणी कम्पनी हो । भण्डारीको यस्तो कार्यले कर्पोरेट ब्राण्डिङमा थप मद्दत पुर्याएको कम्पनीले जनाएको छ ।

नेपाल लाइफले भण्डारीको यस्तो कार्यलाई प्रशंसा गर्दै “त्यो सम्बन्ध कायम रहन्छ, जुन मनबाट सुरु भएको हुन्छ, आवश्यकताबाट हैन ” भनेको छ । सुदुर पूर्वको पहाडी जिल्ला ताप्लेजुंगका एमडिआरटी अभिकर्ता राजु भण्डारी नेपाल लाइफको शान भएको कम्पनीले जनाएको छ । सरल, मिजासिलो, दक्ष र हसिला व्यक्तित्त्वका धनि भण्डारीले दायाँ हातको पाखुरामा नेपाल लाइफको लोगो अंकित ट्याटू देख्दा कम्पनी र यस कम्पनीका ग्राहक प्रति उनको माया, समर्पण , सेवा र सदभाव प्रचुर रहेको महसुस गरेको कम्पनीले जनाएको छ । उनको यो अगाध स्नेह कायम रहिरहने कम्पनीले अपेक्षा रहेको छ ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ७ : ५१ बजे