४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

नगरप्रमुख र उपप्रमुखको गम्भिर गल्ती, मुलुकले शोक मनाउँदा औपचारिक कार्यक्रममा



काठमाण्डौँ । सोमबारको लागि सरकारले मुलुकभर राष्ट्रिय शोक मनाइरहँदा कपिलवस्तुको वाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी आर्याल र उपमेयर रिता चौधरी भने एउटा नगरस्तरीय औपचारिक कार्यक्रममा सहभागि भएर आलोचित भएका छन् ।

आइतरबार ७२ जनाको मृत्यु हुने गरी आन्तरिक उडानतर्फ पोखरामा अहिलेसम्मको सबैभन्दा ठुलो विमान दुर्घटना भएको थियो । त्यसपछि मन्त्रीपरिषद्को आकस्मिक वैठक बसर आजको लागि राष्ट्रिय शोकको घोषणा गरेको थियो ।

त्यसैकारण प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतका मन्त्री, धेरैजसो स्थानीय पालिका, बिभिन्न संघसंस्थाले आज आफ्ना सबै औपचारिक कार्यक्रम बन्द गरेका थिए । तर वाणगंगा नगरपालिका मेयर अर्याल र उपमेयर रिता चौधरी खुलेआम औपचारिक कार्यक्रममा अतिथिको रुपमा सहभागि भए ।

सोमबारको लागि नगरभित्र हुने सबै औपचारिक कार्यक्रम बन्द गर्नुको सट्टा उल्टै नगरस्तरीय कार्यक्रम गर्न छुट दिनु र आफै सहभागि हुनुले मेयर र उपमेयरमा अलिकति पनि कमन सेन्स छैन भन्ने पुष्टि भएको भन्दै नागरिक स्तरबाट आलोचना भएको छ । नगरका केही पूर्ववडाअध्यक्षहरु र पत्रकार प्नि मेयर अर्यालले आज गम्भिर गल्ती गरेको बताउँछन् ।

सोमबार बाणगंगाको वडा नम्बर ९ भलवाडमा नगरस्तरीय चौथो माघी तथा खिचडी महोत्सव आयोजना भएको थियो । त्यही कार्यक्रममा मेयर अर्याल, उपमेयर चौधरी, केही वडा अध्यक्ष र कर्मचारी सहभागि भएका थिए ।

यता नगरपालिका श्रोतले भने नगरको पूर्व निर्धारित कार्यक्रम र थारु समुदायको उल्लासपूर्ण चाड रहेकाले र बाध्य भएर सहभागि भएको बताउँछन् । सोही मेलामै ग्याँस पड्किएर एक जनाको मृत्यु भएको थियो । नगरप्रमुखले आजको लागि उक्त कार्यक्रम स्थगित गरेको भए अर्को दुर्घटना हुनबाट जोगिने सक्ने कतिपय बताउँछन् ।

 

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ५ : ३६ बजे