बागलुङ । तीन छोरा जापानमा थिए, गलकोट नगरपालिका–८ का चूडामणि कँडेलको अघिल्लो वर्ष साउन ११ मा निधन भयो । चाहेर पनि छोराहरू गुणखर, खिमलाल र ज्ञानप्रसाद झट्टै घर फर्कन सम्भव थिएन । उनीहरूले आफन्तलाई भने– तीनरचार दिनसम्म जसरी भए पनि आइपुग्छौं ।
गर्मीको याम, त्यतिका दिन शवलाई कसरी जोगाएर राख्ने रु अझ वैदेशिक रोजगारीले गाउँमा युवा नै नभएको अवस्थामा तीनरचार दिनसम्म शव कुरेर को बस्ने रु दुवैतर्फबाट सल्लाह भयो– डिप फ्रिज किनेर शव सुरक्षित राख्ने । २ लाख ५० हजार रुपैयाँ हालेर फ्रिज किनियो, शवलाई सुरक्षित राखियो । चार दिनपछि आइपुगेका छोराहरूले पिता चूडामणिको विधिपूर्वक अन्त्येष्टि गरे ।
चूडामणिको अन्त्येष्टि भयो तर गाउँमा एउटा उपाय जन्मियो । वैदेशिक रोजगारीले साराका सारा युवा विदेशिएको गाउँमा छोराहरू फर्किउन्जेल शव राख्न डिप फ्रिज भरपर्दो साधन ठहरियो । त्यसैले डिप फ्रिजलाई व्यक्तिको घरबाट गलकोट–८ पचुवास्थित काँडेबास स्वास्थ्यचौकीमा राखिएको छ । जसलाई आपत् पर्छ, उसले सेवा लिने व्यवस्था गरिएको छ ।
गएको जेठ २८ मा गलकोट–९ बाँस्खोलाकी चन्द्रकुमारी सापकोटाको मृत्यु भयो । छोरा प्रकाश न्युजिल्यान्ड थिए । सरसल्लाहपछि छिमेकीले चन्द्रकुमारीको शव स्वास्थ्यचौकीको डिप फ्रिजमा लगेर राखे । कुरुवा पनि चाहिएन । चौथो दिन स्वदेश फर्किएका प्रकाशले आमाको काजकिरिया गरे ।
गलकोट नगरपालिकाका ११ वटै वडा र ताराखोला गाउँपालिकाका केही वडासमेतलाई गलकोट क्षेत्र भनिन्छ । यहाँका धेरैजसो युवा जापान र युरोपमा छन् । यो क्षेत्रका करिब ६० हजार जना विदेशमा रहेको अन्तर्राष्ट्रिय गलकोट समाजका अध्यक्ष बेलुकाजी थापाको भनाइ छ । ‘करिब ५० हजार जना त जापानमै छन् । कोरियामा ४ हजार छन्, युरोप पनि छरिएका छन्,’ भन्छन्, ‘एकै घरका ४र५ जना पनि जापान पुगेका छन्, घरमा त आमाबाबु र बालबालिका मात्रै ।’
थापाका अनुसार विश्वका १२ देशमा गलकोट समाज गठन भइसकेको छ । जापान र कोरियामा बस्नेले घरमा पैसा पठाउँछन् भने युरोप पसेकाले परिवारै पनि लैजाने गरेका छन् । गाउँमा बाबुआमाको मृत्यु हुँदा आउँछन् । तर, फर्कन दुईरचार दिनदेखि सातारदस दिनसम्म लाग्नु सामान्य हो । बाबुआमाको मुख हेर्ने धोको पूरा गर्नेहरूलाई डिप फ्रिज उपयोगी भएको छ ।
गत वर्षको माघ ११ मा बाँस्खोलाकै गगनबहादुर मल्लको निधन हुँदा छोराबुहारी नेपालमा थिएनन् । जापानमा काम गर्ने छोरा राजुसहित परिवारका सदस्य आइपुग्न ५ दिन लागेको थियो । तर शव सुरक्षित थियो । छैटौं दिन उनीहरूले बाबुको काजकिरिया सुरु गरे । वैदेशिक रोजगारीबाट धानिएको बस्ती भएकाले डिप फ्रिज उपयोगी भएको बताउँछन् भैरव मावि बाँस्खोलाका शिक्षक विष्णु मल्ल ।
‘यसरी शव सुरक्षित राख्न सकिन्छ भन्ने न जानकारी थियो न सुविधा । समयमा आउन नपाउने छोराछोरीले बाबुआमाको मुख देख्न नपाउने नियति थियो तर अहिले सबैलाई यो सुविधा प्राप्त भएको छ ।’ काँडेबास स्वास्थ्य चौकीकी प्रमुख प्रतीक्षा लामटाँगेले एउटा कोठा छुट्याएर डिप फ्रिज राखिएको बताउँछिन् । भन्छिन्, ‘बिजुली नियमित भए धेरै दिनसम्म पनि शव सुरक्षित रहन्छ, यो विषयमा धेरैको भावना पनि जोडिएको छ । धेरै जनाले यो सेवाको प्रशंसा गर्नुभएको छ ।’
डिप फ्रिजलाई नियमित बिजुली दिँदा स्वास्थ्य चौकीको खर्च भने बढेको उनको भनाइ छ । शव राख्दा कुनै शुल्क लिइँदैन । ‘स्वस्फूर्त कसैले केही रकम दिनुभएको छ, त्यसैले कोष बनाउने तयारी गर्दै छौं,’ भन्छिन्, ‘कोष बनेपछि विद्युत् खर्च र मर्मत गर्नुपरेमा त्यसबाटै गर्ने तयारी छ ।’