२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

धार्मिक कार्यक्रममै सांसद पन्थीले भने ‘हचुवामा मन्दिर बनाउन बन्द गरौँ’



कपिलवस्तु । एउटा धार्मिक कार्यक्रममा सहभागि भएका लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले हचुवाको भरमा मन्दिर बनाउने काम बन्द गर्नुपर्ने बताएका छन् । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर १० दानापुरमा शिव धाम सेवा समितिले शुक्रबारदेखि आयोजना गरेको ‘श्रीमद्भागवत सप्ताह धनधान्याञ्चल ज्ञान महायज्ञ’ को उद्घाटन गर्दै पन्थील पछिल्लो समय स्थानीय, प्रदेश र संघीय सरकारबाट मठ मन्दिर बनाउन सहयोग लिने तर मन्दिर बनाइसकेपछि त्यसको संरक्षण नगर्ने प्रवृत्ति बढेको स्मरण गराउँदै हचुवामा अब कसैले मन्दिर बनाउन नहुने बताएका हुन् ।

मन्दिरहरुलाई अब आयआर्जनसंग जोड्नु पर्ने बताउँदै उनले भने ‘यहाँ धेरै मन्दिर बने, वाणगंगामा पनि धेरै मन्दिर बनेका छन् । त्यसको नाममा बिभिन्न सरकारले बजेट दिएका छन् । तर ती मन्दिरमा पुजारी छैनन् । रिती छैन । फोहर भएका छन् । म त भन्छु अनुदानमा मन्दिर बनाएर झन् कुरुप बनाएका छौँ । मन्दि बनाएर वेवास्ता गरिएको देखिरहेको छु, पुण्य कमाउने नाममा यसरी झन् धेरे अधर्म र पाप कमाइरहेका छौँ ।’

उनले मन्दिर बनाउन भन्दा मानिसलाई नैतिकता र आचरणका पाठ सिकाउने अनुष्ठान, प्रवचनहरु राख्नुपर्ने बताए । मन्दिर बनाएमा त्यसको अनिवार्य शर्त पुरा गरी रेखदेख हुनुपर्ने उनको भनाई छ । धेरै मन्दिर बनाउन भन्दा एउटै विशाल र रिती पुगेको मन्दिर बनाउन उनको सुझाव छ । धर्म संस्कृतिको रक्षाको लागि यस्ता महायज्ञले ठुलो भूमिका खेल्ने उनको भनाई छ ।

प्रमुख वाचक क्रषिकेशव उपाध्यायले मानिसको मनमा रहेका कल्मस हटाउने एक मात्र सर्वोत्तम उपाय गुरु र आध्यात्मिक प्रवचन, अनुष्ठानहरु रहेको बताए । सुचना, प्रविधि र मोबाइलको विकासले मानिसमा, घर परिवारमा प्रेम र सद्भाव हराएको उनको विश्लेषण छ ।
समितिका अध्यक्ष तथा यज्ञ सम्पादन समितिका संयोजक कृष्ण कार्कीले मानिसले महायज्ञबाट संकलन भएको रकमले अपुरो धर्मशाला निर्माण पुरा गर्ने, मन्दिर बनाउने धामको जग्गमा पार्क पिकनिक स्पट इत्यादि बनाउन पहल गर्ने बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेश सरकारको निवर्तमान पर्यटन मन्त्री रिना नेपाल, वडा नम्बर १० का वडा अध्यक्ष यम प्रसाद पोख्रल, समाजसेवी रमेश नेपाल, बिभिन्न विद्यालयका प्रधानाध्यापक लगायत सहभागि थिए ।

माघ ५ गतेसम्म चल्ने महायज्ञमा उपवाचकको रुपमा योगाचार्य कमल पौड्याल छन् । महायज्ञमा संगितमय प्रवचनको साथ ग्रह दोष कटाउने लगायतका नित्य कर्महरु हुने बताइएको छ । कार्यक्रमको संचालन पत्रकार चन्द्रकान्त न्यौपानेले गरेका थिए ।

 

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ५ : ४२ बजे