२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

निर्मला हत्याबारे अनुसन्धान गर्न डीआईजी सिंह कञ्चनपुरमा



काठमाण्डौँ । निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना छानविन र अनुसन्धान गर्न गठन गरिएको समितिले काम थालेको छ । पुस १५ मा गृहमन्त्रीको निर्देशनमा प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरोकी डीआईजी दुर्गा सिंहको नेतृत्वमा अनुसन्धान समिति गठन गरेको थियो । समितिकी संयोजक सिंहले कञ्चनपुर पुगेर काम थालेकी छिन् । समितिमा सिआईबीमा कार्यरत एसपी कमल थापा, मनोचिकित्सक डा। राजेश दत्त र इन्स्पेक्टर हिरेन्द्र रोकाया सदस्य छन् । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गरेपछि निर्मला पन्तको हत्याबारे न्यायिक छानविन गर्ने पहिलो निर्णय गरेका थिए ।

समिति गठन हुँदा बिदामा रहेकी सिंह बिदा छोट्याएर कञ्चनपुर पुगेकी हुन् । २०७५ साउन १० मा कञ्चनपुरको भिमदत्त नगरपालिका उल्टाखाम घर भएकी निर्मलाको हत्या भएको थियो । १३ वर्षीया पन्तको बलात्कार र हत्या आरोपमा पक्राउ गरिएका विष्ट डीएनए नमिलेपछि रिहा भएका थिए । निर्मलाको हत्या भएको २५ दिनपछि प्रहरीले दिलिपसिंह विष्टलाई समातेर सार्वजनिक गरेको थियो । २०७५ भदौ २६ मा जिल्ला अदाललते संलग्नता पुष्टि गर्ने आधार नभएको र डीएनए म्याच नभएको भन्दै विष्टलाई साधारण तारेखमा रिहा गर्न आदेश गरेको थियो । अनुसन्धान समितिको संयोजक तोकिएकी सिंहले त्यतिवेला पनि सो घटनाको अनुसन्धान गरेकी थिइन् ।

निर्मला हत्या अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले शुरुमा केन्द्रिय अनुसन्धान ब्यूरोका डीएसपी अंगुर जिसी नेतृत्वको टिमलाई कञ्चनपुर पठाएको थियो । ४ भदौ ०७५ मा अंगुर जिसी नेतृत्वको अनुसन्धान टोलीले दिलिप सिंह विष्टलाई पक्रेको थियो । दिलिपलाई यातना दिएको अभियोगमा अंगुर जिसी सहितका प्रहरी अधिकृतलाई प्रहरीकै अर्को समितिको सिफारिसमा कारवाही भएको थियो । तत्कालिन प्रहरी अतिरिक्त महानिरिक्षक ९एआईजी० धिरु बस्न्यात नेतृत्वको समितिको लामो छानविन गरेर ३ पुस ०७५ मा रिपोर्ट बुझाएको थियो । सो समितिको रिपोर्टको आधारमा सुरुवाती अनुसन्धानमा संलग्न डीएसपी अंगुर जिसी सहितका प्रहरीले गल्ती गरेको निष्कर्ष निकाल्दै थप कारावाही गर्न सुझायो ।

त्यसपछि अरु दुईवटा समिति बने । गृह मन्त्रालयले डिएनए विज्ञ जिवन रिजाल नेतृत्वमा एउटा समिति बनायो । प्रहरी प्रधान कार्यालयले तत्कालिन डीआईजी सुरज केसीको नेतृत्वमा छुट्टै पुनरावलोकन समिति गठन गर्यो । जीवन रिजाल नेतृत्वको समितिले निर्मलाको भेजिनल स्वावमा सिमेन्ट नै नभएको निष्कर्ष निकाल्दै डीएनए परीक्षण विधिबाट हत्यारा पत्ता नलाग्ने प्रतिवेदन बुझायो ।

तत्कालीन प्रहरी नायव महानिरीक्षक (डीआईजी) सुरज केसी नेतृत्वको पुनरावलोकन समितीले धिरु बस्न्यात समितिको प्रतिवेदन गलत भएको निष्कर्ष निकालेको थियो । सर्वेन्द्र खनाल प्रहरी महानिरिक्षक हुँदा धिरु बस्न्यात नेतृत्वको समितिले दिएको प्रतिवेदन कार्यान्वयन नगर्ने निर्णय गरेर प्रहरीले दिलिपसिंह विष्टलाई पक्राउ गर्न खोज्यो । त्यतिवेला नै दिलिपसिंह विष्टको बिरुद्ध पीडित परिवारले किटानी जाहेरी दिए । किटानी जाहेरी बाहेक दिलपीले ‘कसुर स्वीकार गरेको’ भिडियो प्रहरीले थप प्रमाणको रुपमा यसअघि नै तयार पारेको थियो । तर, सरकारी वकिलले त्यतिमात्रै प्रमाणको आधारमा मुद्धा दर्ता गर्न नमिल्ने अडान राख्दै आएको छ ।

निर्मला हत्या अनुसन्धान गर्न केन्द्रिय अनुसन्धान ब्यूरोले एउटा टिम त्यहाँ खटाइरहेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत रहँदा वर्तमान एसएसपी गणेश चन्दले पनि कञ्चनपुरमा बसेर लामो अनुसन्धान गरेका थिए ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ५ : २८ बजे