२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

लुम्बिनी विकास कोषले गर्‍यो कपिलवस्तु क्षेत्रका बौद्ध सर्किटको अवलोकन



बुटवल । लुम्बिनी विकास कोषले कपिलवस्तु क्षेत्रका बौद्ध सर्किटहरुको अवलोकन गरेको छ । कोषका उपाध्यक्ष भिक्षु मैत्तेय, कोषाध्यक्ष ढुुण्डिराज भट्टराई (सिद्धिचरण) सदस्य सचिव सानुुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई सहितको टोलीले प्राचीन तिलौराकोट दरबार, सगरहवा र सिसहनियाको स्थलगत अवलोकन गरेको हो ।

त्यस अवसरमा विश्वसम्पदा सूूचीकृतको तयारीमा रहेको तिलौराकोटको व्यवस्थापन, सिसहनियाको संरक्षण एंव सगरहवालाई बौद्धकालीन पार्कका रुपमा विकास गर्न राष्ट्रिय कार्यशालामा जुट्न पदाधिकारीहरुले निर्देशन दिएका छन् ।

कोषका उपाध्यक्ष भिक्षु मैत्तेयले बौद्धकालीन सभ्यताका प्रशस्त अवशेषहरु कपिलवस्तुमा रहेकाले उत्खनन, संरक्षण र विकासका लागि कोषले क्रमशः काम गर्दै अघि बढ्ने बताए । उनले तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारीका लागि आवश्यक सम्पूूर्ण प्रक्रिया पूूरा भएको बताए ।

अवलोकनका क्रममा कोषाध्यक्ष ढुण्डिराज भट्टराई ९सिद्धिचरण० ले जगदीशपुर ताल नजिकै रहेको शाक्यहरुको बध भएको स्थल सगरहवामा प्रस्तर राष्ट्रिय कार्यशाला गर्ने तयारी स्वरुप स्थलगत अवलोकन गरिएको बताए । सगरहवा ताललाई स्थानीय तह, स्थानीय बासिन्दाको समेत अपनत्व हुने गरी बौद्धकालीन सभ्यतालाई प्रस्तरमा उतारेर पर्यटकीय गन्तव्य बनाउने योजना अनुसार कार्यशाला गर्ने परिषदले निर्णय गरिसकेको उनले बताए ।

अवलोकनपछि तिलौराकोट, सगरहवा र सिसहनिया क्षेत्रको संरक्षणका लागि पहिलो चरणमा तत्तकाल पर्खाल निर्माण शुरु गर्नुपर्ने आवश्यकता देखिएकाले सुरु गर्ने सदस्य सचिव सानुराजा शाक्यले बताए । अनुुगमनमा योजना प्रमुख सरोज भट्टराई, कोषका बोर्ड सदस्य विश्वराज पौडेल, अर्का बोर्ड सदस्य रामनरेश कोहांर, परिषद सदस्य गोपी कृष्ण शर्मा, कोषका पुरातत्व विभागका प्रमुख हिमाल उप्रेती लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  ७ : १२ बजे