४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

बैंकर्ससँग पनि चालुपूँजी कर्जा मार्गदर्शनबारे गभर्नरको छलफल



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकर्सहरुसँग पनि चालुपूँजी कर्जा सम्बन्धी मार्गदर्शनबारे छलफल गरेको छ । मार्गदर्शन संशोधनको दवाबमा परेका गभर्नर महाप्रसाद अधिकारीले सोमबार निजी क्षेत्रसँग छलफल गरेका थिए भने मंगलबार बैंकर्ससँग पनि छलफल गरेका हुन् ।

मंगलबार बैंकर्स संघका कार्यवाहक अध्यक्ष तथा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, निवर्तमान अध्यक्ष समेत रहेका नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशम्शेर राणासँग राष्ट्र बैंकले छलफल गरेको हो ।

 

राष्ट्र बैैंक गभर्नर कार्यालयले नै बैंकरहरुलाई छलफलमा बोलाएको थियो । ‘चालुपूँजी कर्जा मार्गदर्शन कार्यान्वयनका विषयमा छलफल भयो,’ छलफलमा सहभागी एक बैंकरले भने, ‘उहाँहरुले मार्गदर्शनमा कार्यन्वयनमा के(चुनौती छन् । सुधार गर्नुपर्ने ठाउँहरु के छन् भनेर प्रतिक्रिया माग्नुभयो । केही संशोधन गर्न सकिन्छ कि भन्नेबारे छलफल भयो ।’

राष्ट्र बैंकले अहिलेको समस्या समाधानको लागि कसरी जान सकिन्छ भनेर बैंकरको राय बुझ्न खोजेको उनले बताए । बैंकर्स संघको तर्फबाट पहिलो नै लिखित सुझाव पठाइसकेको र सोही विषयमा केन्द्रित भएर छलफल भएको ती बैंकरले बताए । बैंकर्सले विगतको गल्ती एकैपटक सच्याउँछु भन्दा समस्या हुने भन्दै त्यसलाई क्रमिक सुधार गर्नुपर्ने सुझाव राष्ट्र बैंकलाई बैंकर्स संघले दिएको छ ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  ७ : ०९ बजे