२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

वाह ! यस्ता पो मेयर, जसले वडावडामै गएर योजना सम्झ्यौता गर्छन्



हाम्रो रोजगारी, कपिलवस्तु ।

सरकारी कामको झन्झटिलो प्रक्रियामा आम नागरिकले दुःख पाइरहेका बेला कपिलवस्तुको एक नगरपालिकाले भने उदाहरणीय कामको सुरुवात गरेको छ । जिल्लाको बुद्धभूमि नगरपालिकाले बार्षिक स्विकृत योजनालाई वडा तहमा पुगेर सम्झौता गर्न थालेको हो । यो कार्यपछि धेरैले नगर प्रमुख केशव श्रेष्ठको प्रसंसा हुन थालेको छ ।

उपभोक्ता समितिबाट गर्ने योजनाको कामलाई नगरपालिकामा पुग्न नपर्ने गरी बुद्धभूमिले वडा वडामा कर्मचारी खटाएको छ । योजनाको कामको सम्झौताका लागि पटक पटक नगरपालिकामा आउनु पर्ने र यसले आम उपभोक्ता समितले दुःख पाउने गरेकाले स्वयम कर्मचारी वडामा आफै गएर सम्झौता गर्ने काम गरेको प्रमुख प्रशासकीय अधिकृत रमेश गौतमले बताउनुभयो । यस्तै लोकप्रिय र जनपक्षीय काम गरेका कारण श्रेष्ठले गत वैशाखमा सम्पन्न स्थानीय चुनावमा सानदार जित निकाल्दै दोश्रोपटक उही पदमा पुगेका हुन् । प्रशासकीय अधिकृत गौतमले नगरप्रमुख जनउत्तरदायी भएका कारण यो काम सम्पन्न भएको बताए ।

स्थानीय तहमा उपभोक्ता समितिबाट हुने कामहरुका लागि पटक पटक योजना सम्झौताका लागि नगरपालिका धाउनू पर्ने स्थिति छ । लामो दुरी पार गर्दै नगरपालिकामा आउनुपर्दा समयमा काम नहुने, आवश्यक कागजात अपुग हुने, कर्मचारी नभेटिने र उपभोक्ताले सास्ति खप्नुपर्ने स्थितिको अन्त्यका लागि यो काम गरिएको नगरपालिकाले जनाएको छ ।

जिल्लामै पहिलो पटक नौलो अभ्यासको सुरुवात बुद्धभूमिले गरेको हो । नगरपालिकाको प्रशासनिक कामको झन्झट हटाउने गरी प्रमुख प्रशासकीय अधिकृत लागि पर्नुभएको छ । नगरबासीलाई नगरपालिकाले दिने सेवा सुविधालाई छिटो, छरिटो र झन्झट रहित बनाउनका लागि प्रयास गरिरहेको उहाँले बताउनुभयो ।

चालु आवमा वडामा छुट्याइरहेका योजनाको काम गर्न लागि उपभोक्ता समिति गठन गर्नुपर्ने र तत्काल योजना सम्झौता गर्नुपर्ने भएकाले आफूहरु वडा वडामा पुगेर काम गरिरहेको उहाँले बताउनुभयो ।
यसले समग्र नगरबासीलाई समयको बचत हुने र तोकिएको समय भित्र योजना सम्पन्न गराउन सकिने उहाँको विश्वास छ । नगरपालिकाबाट आफूसहित योजना अधिकृत, इन्जिनियर र सम्बन्धित विषयगत फाँटका कर्मचारी वडामा पुगेर काम गरिरहेको उहाँले बताउनुभयो ।

आगामी चैत्र भित्र नगरपालिकाका सबै योजनाका काम गर्ने गरी आफूहरुले काम गरिरहेको नगरपालिकाका योजना शाखाका प्रमुख नविन खनालले बताउनुभयो । चिसो मौसममा पनि आफूहरु वडामा पुगेर काम गरिरहेको खनालले बताउनुभयो ।
नगरपालिकाले यस भन्दा अगाडी दुई लाखसम्मका कामहरु वडाबाटै सम्झौता गर्ने गरी अख्तियारी दिएको थियो । यसबाट आम नगरबासीले लाभ लिइरहेका छन् ।

योजना सकाएर भुक्तानीका लागि नगरमा आउने फाइलको भुक्तानी ५ मिनेट भित्रै दिने गरी बुद्धभूमिले काम गरिरहेको छ । प्रशासनिक कामलाई सरल बनाउनका लागि आफूहरु लागि परेको नगर प्रमुख केशवकुमार श्रेष्ठ बताउँनुहुन्छ । स्थानीय सरकार नजिकको सरकार भएकाले यसमा आफूहरु गम्भीर र सचेत बनेको उहाँले बताउनुभयो । नागरिकको सेवाका लागि आफू नगर प्रमुख बनेको भन्दै आम नगरबासीको सुख, दुखमा काम गरिरहेको उहाँले जनाउनुभयो ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  ५ : ३१ बजे