२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

स्वरोजगारः पाण्डे दाजुभाइ मिलेर काम गर्दा नसोचेको प्रगति



चन्द्रकान्त न्यौपाने, कपिलवस्तु ।

नेपाली भाषामा उखानै छ ‘भाइ फुटे गँवार लुटे’ । यदि दाजुभाइमा राम्रो मिलन हुन सकेन भने शत्रु या अरुले फाइदा लुट्छन् भने आपसमा मिलेर काम गर्दा नसोचेको सफलता मिल्छ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर २ वैरीयाका ध्रुव पाण्डे र सूर्य पाण्डेले मिलेर काम गर्दा नसोचेको प्रगति हासिल गर्न सफल भएका छन् नै विदेश जाने युवाहरुको लागि पनि देशमै केही गर्नु पर्ने प्रेरणा बनिरहेका छन् ।

कलेज पढ्दै गर्दाबाट सानो पुजा सप्लायर्सको नामबाट छड सिमेन्टको ब्यापार थालेका उनीहरुले १२ बर्षमै अपत्यारिलो प्रगति गर्न भ्याए । सिद्धार्थ क्याम्पसमा पढाइसंगै खेलमा रुची राख्ने पाण्डे दाजुभाइ दुवैले ब्यवस्थापन विषय पढेनन् तर ब्यवसायमा राम्रो सफलता हासिल गरे । उनीहरु आर्टसका विद्यार्थीहरु हुन् । आफुसंगैका कोही साथीभाइहरु विदेश गए । कोहीले अरु जागिर गरे । कति शिक्षक बने । कति निजामतितर्फ गए । तर उनीहरु भने जस्तोसुकै कठिन स्थितिमा पनि ब्यवसायमै लिन भए ।

उनीहरुले अनेक दुख कष्ट नसहेका होइनन् तर निरन्तरको खटाइ र मिहिनेतले आज सिमन्ट र छडको ब्यापारले ठुलो आकार लिएको छ । छड सिमेन्ट मात्रै होइन उनीहरुले अहिले टायल, मार्वल तथा सेनेटरी’ लगायतका घर निर्माणका सबै सामान बेच्छन् अर्थात् पाण्डे दाजुभाइले अहिले ब्यापार बढाएका छन् । उनीहरुको दोकानमा अहिले करोडौँ लगानी छ ।

मासिक कमाई हेर्दा उनीहरुको लाखमा गणना हुन्छ अर्थात् दुवैले मिलेर अहिले राम्रो आर्थिक हैसियत बनाएका छन् । वैरिया पूर्वपश्चिम राजमार्गमा फराकिलो जग्गामा पसल राखेका छन् । दुईभाइको यो मिलन र ब्यापारमा गरेको मिहिनेत देखेर साथीभाइदेखि धेरै लोभिन्छन् । उनीहरु केही गर्नेहरुको लागि उदाहरण नै बनेका छन् ।

पहिला संगै सिमन्ट र छड बेच्ने दाजुभाइ अहिले आमने सामने दुई पसल चलाउँछन् अर्थात् भाइ पाण्डेले पुरानै ठाउँबाट सिमन्ट छड बेच्छन् भने थप ब्यवस्थापनसहित नयाँ बनाएको ठाउँबाट दाजु ध्रुव पाण्डेले मार्वल, टायल ९सोमानी कम्पनी० ग्रेनाइट, सेनेटरी, खुद्रा र होलसेलमा बेच्ने गर्दछन् । उनीहरुका नियमित ग्राहक लुम्बिनी प्रदेशका बिभिन्न जिल्लामा छन् ।

दाजु ध्रुवले यस सफलताको पछाडी आमाबुबाको प्रेरणा महत्वपूर्ण रहेको बताउँछन् । उनी भन्छन् ‘आमा बुबा र दाजु लक्ष्मणले देशमै केही गर्नुपर्छ भन्नुहुन्थ्यो । मेरो पनि जागिर र विदेशमा मन नजाने । कलेज पढ्दै गर्दाबाट ब्यापारमा होमिएँ । दुख पनि धेरै भोगियो । दाजुले धेरै सहयोग गर्नुभयो सुरुवातमा । अहिले सन्तुष्ट छु ।’

उनले भने ‘यसको पछाडी भाइको योगदान पनि बढी छ । भाइले सधैँ गारोसारो सबैमा साथ दियो । दाइभाइ भएपछि ठाकठुक हुनु स्वभाविक हो । तर त्यसलाई रिसिवीको रुपमा कहिल्यै लिएनौँ । धेरै ठाउँमा सुनिन्छ । देखिन्छ । दाजुभाइ नमिलेको । झगडा गरेको तर हामीले त्यो गरेनौँ । दुवैले विजनेशमा कमजोरी गर्दा आलोचना गथ्यौँ । गल्ती गर्दा उसले पनि सम्झाउँथ्यो । मैले पनि सम्झाउँथे । यसै कारण अहिले यहाँसम्म आइपुग्यौँ । यो त्यस्तो सफलता होइन तर दाजुभाइ मिलेर केही गर्नुपर्छ भन्ने सन्देश छोड्न चाहान्छौँ ।’

दाजु ध्रुवले रिक्स लिएर ब्यवसाय गरेको बताए । सुरुमा केही थिएन । बैङ्कबाट ऋण पनि लिइयो । अहिले पनि लोन छ भन्दा हुन्छ । लोनविना त कसरी प्रगति हासिल गर्न सकिन्छ र ? राम्रो प्लान् गरेर ऋण लिँदा डुविन्न, हाम्रो रोजगारीलाई उनले भने ।

भाइ सूर्य पाण्डेले पनि दाजुको प्रेरणामा काम गर्न पाउँदा औधी खुसी भएको बताए । ‘दाजुले थालेको ब्यवसायलाई मैले पनि सानैबाट साथ दिएँ । उहाँसंग लाग्दालाग्दै मलाई पनि त्यहीँ रमाइलो लाग्यो । अरु गर्न सोच्न मन लागेन । आज राम्रो गरेछु भनेर गर्व लाग्छ । दुई दाजुभाइ मिलेर गरेको प्रगतिमा आज सबैले राम्रो भन्नुहुन्छ । कमाई पनि राम्रै छ‘, उनले भने । अहिले दुवै जना बिभिन्न सामाजिक कार्यमा पनि उत्तिकै संलग्न छन् । दाजु ध्रुव लायन्स क्लव अफ कपिलवस्तु लगायतका संस्थामा आवद्ध छन् । दुखी पीडितलाई आवश्यक पर्दा सहयोग पनि गर्दछन् ।

अब उनीहरुको सोँच ब्यवसायलाई अझै ठुलो भोलुममा बढाउनु र समाज सेवा गर्नु रहेको छ । दुईभाइले नै भने ‘पहिला समयमै कमाऔँ । ४० कटेपछि के हो के ? त्यसपछि राजनीति र समाजसेवा पनि अझै राम्रोसंग गर्ने विचार छ ।’ दुईभाइको यो मिलनबाट आमाबुबा पनि निकै खुसी भएको उनीहरुले बताए ।

कोरोनापछि थुप्रै समस्या भए तापनि दुईभाइ नआत्तिकन अगाडी बढेको उनीहरु बताउँछन् । धेरै ब्यवसायी कोरोनापछि समस्यामा परेको भन्दै राज्यले चाँडै व्यवसायिक वातावरण बनाउन पनि उनीहरुको आग्रह छ ।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ११ : १२ बजे