२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

संसदीय दलमा हारेपछि अर्याल भन्छन् ‘देउवा र कार्कीले आश्वासन मात्र दिए’



काठमाण्डौँ । प्रदेश १ को संसदीय दलको नेतामा पराजय भोगेका केन्द्रीय सदस्य अमृत अर्याल आक्रमक भएका छन्। शनिबार पार्टी सभापति शेरबहादुर देउवा र पूर्वमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसँग आक्रमक हुँदै उनले आफूलाई हराउने काममा सक्रिय भएको आरोप लगाएका छन्।

‘म ०३५ सालदेखि निरन्तर नेपाली कांग्रेसमा सक्रिय भएर लागिरहेको छु, यो समयमा म ८ पटक जेल परेको छु,’ अर्यालले भने, ‘पछिल्लो समयमा मलाई पार्टी सभापति शेरबहादुर देउवा र ज्ञानेन्द्रबहादुर कार्कीको टिम आश्वासन दिनुभएको थियो र मैले उठ्ने तयारी गरेँ तर उहाँहरुले त्यो अनुसार काम गर्नु भएन्।’

गत शुक्रबार दलको नेतामा विजयी हुने दाबीसहित मनोनयन दर्ता गरेका अर्यालले आफ्ना प्रस्तावक र समर्थकमध्ये एकको मत नै पाएनन्। उनको समर्थकमा सुनसरीकी सुनिता कुमारी गुरुङ र प्रस्तावकमा सोलुखुम्बुकी डोल्मा तामाङ थिइन्।

देउवा पक्षको भए पनि विजयकुमार गच्छदारसँग निकट भएका कारण गुरुङले मतदान नगरेको अर्याल निकट नेताहरुको बुझाई छ।

गच्छदारले दलको नेताको निर्वाचनमा थापालाई समर्थन गरेका थिए।

दलको नेतामा पराजित भएपछि शनिबार पत्रकार सम्मेलन गर्दै अर्यालले दलको नेतामा भएको आफ्नो पराजयको सम्पूर्ण दोष पूर्व सूचना तथा सञ्चारमन्त्री कार्कीलाई लगाएका हुन्।

अर्यालले दलको नेतामा कार्कीकै डिजाइनमा आफूलाई हराएर मानमर्दन गरेको समेत बताए।

प्रदेश १ संसदीय दलको निर्वाचनमा सभापति शेरबहादुर देउवा प्यानलबाट अर्याल उम्मेदवार थिए। दलको नेतामा कृष्णप्रसाद सिटौला पक्षका उद्धब थापा १८ मतसहित विजयी हुँदा अर्यालले जम्मा २ मत मात्रै प्राप्त गरे।

डा। शेखर कोइराला पक्षका अर्का प्रत्यासी केदार कार्कीले ९ मत पाए।

२०७० सालको निर्वाचित संविधानसभा सदस्य अमृत अर्याल मंसिर ४ को निर्वाचनमा मोरङ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको दाबेदार थिए।

भागबण्डा मिलाउनुपर्ने भएपछि सभापति शेरबहादुर देउवाले मुख्यमन्त्री बनाउने आश्वानसहित उनलाई प्रदेशमा पठाएका थिए।

मुख्यमन्त्रीका अर्का प्रमुख दाबेदार राजिव कोइराला पराजित भएपछि मोरङ ५,२ बाट प्रदेशसभा सदस्यमा विजयी भएका अर्याललाई गठबन्धनबाट भावी मुख्यमन्त्रीको रुपमा हेरिएको थियो।

आफ्ना कार्यकर्तालाई सभापतिले आफूलाई मुख्यमन्त्री बनाउन पठाएको बताउथेँ उनी। तर कांग्रेस–माओवादीसहितको गठबन्धन फुटेपछि ओझेलमा परेका अर्यालले पार्टीको संसदीय दलको नेताको निर्वाचनमा लज्जास्पद हार व्यहोरेका छन्।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  ७ : ०७ बजे