काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले सरकारमा जाने मन्त्रीबारे निर्णय गर्ने जिम्मेवारी पार्टीको राजनीतिक समितिलाई दिएको छ।
शनिबार बालकुमारीस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी हुने मन्त्रीबारे निर्णय गर्ने जिम्मेवारी सो समितिलाई दिएको हो।
पुस १८ र १९ गते सो पार्टीले राजनीतिक समितिको बैठक बोलाएको छ। सोही बैठकले आवश्यक निर्णय गर्दै सरकारमा सहभागी हुने मन्त्री तय गरिने निर्णय केन्द्रीय कार्यकारिणी समिति बैठकले गरेको पार्टीका प्रवक्ता मनीष सुमनले जानकारी दिए।
बैठकमा निर्वाचनको समीक्षा गर्न शिवलाल थापा नेतृत्वको ३ सदस्यीय समितिसमेत बनाएको छ। तर, त्यसलाई राजनीतिक समितिको बैठकले अनुमोदन गरेपछि मात्रै काम सुरु हुने पनि प्रवक्ता सुमनले बताए।
उने भने, ‘सातदलीय संयन्त्रमा हामी सहभागी छौँ। हाम्रै समर्थनले प्रधानमन्त्री चयन भइसक्नुभएको छ। यो सरकारलाई हाम्रो समर्थन छ। सरकारको न्यूनतम साझा कार्यक्रमबारे पनि, त्यो सरकारमा सामेल हुने साथीबारे पनि त्यसका लागि अहिले समय छ। सरकारको विस्तार २९ गतेपछि नै हुने जस्तो हामीलाई सुन्नमा आएको छ।
तसर्थ, पर्सीबाट सुरु हुने राजनीतिक समितिको बैठकमा यसबारे थप निर्णय गर्ला। निर्वाचनको समीक्षा भन्ने हो भने प्रत्येक जिल्लाबाट मागिएको प्रतिवेदन आइसकेको छ। अब त्यो रिपोर्ट अध्ययन गरेर त्यसलाई अझै छलफल गरेर निर्णय गर्नकै लागि केन्द्रमा पनि एउटा समिति निर्माण भएको छ। शिवलाल थापाजी त्यसको संयोजक हुनुहुन्छ। बालकिशोरजी र रणध्वज कन्दवा रहनुभएको समितिलाई राजनीतिक समितिले अनुमोदन गर्नेछ।’