२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

प्रहरीले उजुरी लिन मानेन, सिके राउतले सिधै फोन गरे गृहमन्त्रीलाई



काठमाण्डौँ । सप्तरीमा प्रहरीले उजुरी नलिएको भन्दै जनमत पार्टीका अध्यक्ष सिके राउतले गृहमन्त्री रवि लामिछानेलाई फोन गरी जानकारी गराएका छन्।

शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आफूले पाएको गुनासोबारे गृहमन्त्री लामिछानेलाई जानकारी गराएको बताएका हुन्।

राउतले आफ्नो क्षेत्रका गुनासोको सम्बोधन गर्न कार्यालयमा गुनासो पेटिका राखेका छन्। त्यसको सम्बोधन गर्नेक्रममा उनले सप्तरीमा महिला हिंसा र यातनाको दर बढ्दो देखिएको बताएका हुन्।

त्यसैबीच एक महिलाको कपाल खौरिदिएको घटनामा पीडित महिला प्रहरीसमक्ष पुग्दा समेत उजुरी नलिएको गुनासो समेत आएको उनले उल्लेख गरेका छन्।

‘हिजो आफ्नो क्षेत्रका गुनासो सुन्ने क्रममा सप्तरीमा महिला हिंसा र यातनाको दर बढ्दो, र पीडित महिला ९कपाल खौरिदिएको पिडित महिला समेत० प्रहरीकहाँ हिम्मत गरेर जाँदा पनि प्रहरीले उजुरी लिन नमानेको विषय उठेकोले गृहमन्त्रीज्यूलाई सो बारेमा फोनमा अवगत गराएको छु,’ उनले भनेका छन्।

यस्तै जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी अभिनारायण काफ्लेले भने यसको अनुसन्धान भइरहेको बताए। केही दिन अघिको घटना भएको बताउँदै दुई पक्षबीच छलफल भएको पनि जानकारी दिए।

‘प्रहरीले लिन नमानेको होइन। हामीले अनुसन्धान गर्दैछौं। उहाँहरूले अस्ती दुई पक्ष बसेर छलफल गर्छौं पनि भन्नुभएको थियो। त्यसपछि आउनु पनि भएको छैन,’ उनले भने।

उनले जिल्लामा महिला हिंसाका घटना नबढेको पनि दाबी गरे। उनले प्रहरी समक्ष आएका गुनासोको सम्बोधन गरी अनुसन्धान गर्ने गरेको बताए।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  ६ : ०२ बजे