३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

डीएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस



काठमाडौँ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयले गृहमन्त्रालयलाई सिफरिस गरेको छ।

नक्सालले प्रहरी नियन्त्रणणमा रहेका केसीलाई निलम्बनका लागि मंगलबार गृहमन्त्रालयमा पत्राचार गरेको हो।

केसीलाई सोमबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले अवैध सुनसहित नियन्त्रणमा लिएको थियो।

सीआईबी प्रमुख एआईजी उत्तमराज सुवेदीले उनीमाथि अनुसन्धान भइरहेको बताएका छन्।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुखसमेत रहेका केसीले सुन कारोबारसम्बन्धी मुद्दामा रकम असुलेको आरोपमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको थियो।

केसीको निवासबाट ३५ तोला सुन र २५ लाख रुपैयाँ नगदसमेत बरामद भएको थियो।

सुन कारोबारसम्बन्धी मुद्दामा रकम असुलेको विषयमा अनुसन्धान गर्न सीआईबीको टोली बुटवल पुगेको थियो।

बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैँले राखेको गुनासो आएपछि प्रहरी प्रधान कार्यालयले सीआईबीको टोली खटाएको थियो।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ३ : ०४ बजे