३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

एभरेष्ट माविको खेलकुद सप्ताह सकियो, कसले के जिते ?



बुटवल, पुस ९ । बुटवल सुख्खानगरस्थित एभरेष्ट इङलिस बोर्डिङ माविमा भएको खेलकुद सप्ताह दिवस कार्यक्रम सम्पन्न भएको छ ।

विद्यार्थीहरुको शारीरिक, मानसिक तथा बौद्विक विकासका साथै उनीहरुमा आपसी सहकार्य, साथीत्व र एकताको विकास गर्ने उद्देश्यले हरेक वर्षजस्तै यस वर्ष पनि विद्यालयले खेलकुद सप्ताह दिवस कार्यक्रम गरेको हो । विद्यालयले बुधबार, विहीबार र शुक्रबार गरि तीन दिवसीय कार्यक्रम गरेर खेलकुद सप्ताह गरेको हो ।

कक्षा नर्सरीदेखि १२ सम्मका करिब ९ सय ५० विद्यार्थीहरुले विभिन्न प्रतिस्प्रर्धामा प्रतियोगीका रुपमा सहभागिता जनाएका थिए । प्रतियोगितामा १००, ४०० र ८०० मिटर दौड, हाइजम्प, लङजम्प, म्युजिकल चियर, टायर रेस, सटपुट, स्किपिङ रेस, स्याकरेस लगायतका विधाहरुमा कक्षा ६–१२ सम्मका विद्यार्थीहरु सहभागी भएका थिए ।

यस्तै हट पोटेटो, स्वीट रेस, म्याथमेटिकल रेस, बेलुन ब्लाष्ट, १०० मिटर रेस लगायतका १० बढी विधामा कक्षा नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थीहरु सहभागी भएको विद्यालयका सह प्राचार्य भिमसेन गौतमले जानकारी दिनुभयो ।

विद्यालयको खेलमैदान, सिद्वेश्वरी खेलमैदान र एन्फा खेलमैदान गरी तीन स्थानहरुमा सञ्चालित त्रिदिवसीय खेलकुद सप्ताह दिवसमा सबै विधामा गरी ६ सय ३० छात्रछात्रा विजयी भएको र विजयी छात्रछात्रालाई ट्रफी, मेडल र प्रमाणपत्रले सम्मान गरिएको विद्यालयले गौतमले बताउनुभयो ।

खेलदिवसको समापनका अवसरमा आयोजित पुरस्कार वितरण कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य कृष्ण न्यौपानेले खेलकुदको विकासका लागि विद्यालयले जुनसुकै कार्य गर्न पनिपछि नपर्ने प्रतिबद्वता व्यक्त गर्नुभयो । उहाँले किताबी ज्ञानका साथै अतिरिक्त क्रियाकलापका माध्यमले पनि विद्यार्थीको व्यक्तित्व विकास हुने बताउनुभयो ।

कार्यक्रममा विद्यालयका उप प्राचार्य उमेश रेग्मीले यस्ता कार्यक्रमले विद्यार्थीमा अन्तरनिहित प्रतिभाको प्रस्फुटन हुने हुनाले धेरैभन्दा धेरै विद्यार्थीले सहभागिता जनाउनुपर्ने भनाई राख्नुभयो ।

एभरेष्ट माविले बार्षिक रुपमा विद्यार्थीको क्षमता विकासका लागि विभिन्न खाले अतिरिक्त कृयाकलापहरु संचालन गर्दै आएको विद्यालयका शिक्षम माधव पौडेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ६ : २० बजे