३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

नाडाको भेलाः अटो व्यवसायीहरु दोस्रो चरणको आन्दोलनमा जाने



काठमाडौं। अटोमोबाइल व्यवसायीहरुको दुई दिने बृहत् भेला सम्पन्न भएको छ। नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालले चितवनमा अटो व्यवसायीहरुको यही पुस ८ र ९ गते दुई दिने भेला आयोजना गरेको थियो।

उक्त भेलाले नाडाको आगामी दिनको कार्यदिशा, समग्र देशको अर्थतन्त्र तथा अटोमोबाइल व्यवसायको वर्तमान परिस्थिति र भविष्यको मार्गदर्शनलगायतका विषयमा केन्द्रित रहेको नाडाका अध्यक्ष ध्रुव थापाले बताए। उक्त भेलामा नाडा अन्तर्गतका सातै प्रदेश एशोसिएसनबीच अन्तरक्रिया तथा छलफल भएको थियो। भेलामा नाडाका पूर्व अध्यक्षहरु समेतको उपस्थिति थियो।

भेलाले बैंकहरुको उच्च ब्याच दरलगायत चालुपूँजी कर्जा लागु गरेको, जोखिमभार र एलसी मार्जिन लगायतका विषयहरुमा समेत छलफल गरेको नाडाले जनाएको छ।

उक्त कार्यक्रममा नाडाका पूर्व अध्यक्षहरु रोहिणी थपलिया, सुनिल खेतान, सौरभ ज्योति, अन्जन श्रेष्ठ र शम्भुप्रसाद दाहालले व्यवसायीहरुलाई मार्गदर्शन गर्दै नाडाले सुरु गरेको आन्दोलनको औचित्य र आवश्यकता बारे चर्चा गरेका थिए।

कार्यक्रममा सातै प्रदेश एशोसिएसनका अध्यक्षहरुको पनि उपस्थिति थियो। भेलामा नाडाको सुरु गरेको आन्दोलनका बारेमा आ(आफ्ना धाराणा राखेका थिए।

थापाका अनुसार भेलाले दोस्रो चरणको आन्दोलनमा जाने भन्दै वार्ता र आन्दोलन दुवैलाई एकै साथ अघि बढाउने निर्णय समेत गरेको छ। साथै व्यवसायीहरुले राखेको माग पुरा नभएसम्म आन्दोलनलाई जारी राख्ने दृढता समेत व्यक्त गरेका छन्।

सो बृहत् छलफलमा सरकारले विगत ८ महिनादेखि पेट्रोलियम पदार्थबाट चल्ने कार, जिप तथा भ्यान जस्ता निजि प्रयोजनका सवारी साधन र १५० सिसि भन्दा माथिका मोटररसाइकलको आयातमा लगाएको प्रतिबन्ध खुलाए पनि अझै समस्याहरुका कारण अटोमोबाइल व्यवसायमा सहजता आउन नसकेको ठहर गरेको छ।

अटोमोबाइल व्यवसायी धमाधम पलाएन हुने अवस्था आएकोले व्यवसायीहरुले दोस्रो चरणको आन्दोलनमा जाने निर्णय गरेको नाडाले जनाएको छ।

नाडाले मंसिर १६ गते पत्रकार सम्मेलन मार्फत प्रथम चरणको आन्दोलन घोषणा गरि मंसिर २२ गते काठमाडौंलगायत ७ वटै प्रदेशमा एकैसाथ धर्ना कार्यक्रममार्फत विरोध गरेको थियो।

उक्त कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा अर्थविद् डा। विश्वनाथ पौडेलले देशको अर्थतन्त्र र नेपालको समग्र अटोमोबाइल क्षेत्रका सम्बन्धमा विषेश प्रस्तुती दिएका थिए।

यसैगरी नाडाको १३औं कार्यसमितिको बैठकले नाडाको आउँदो ४६औं वार्षिक साधारण सभा माघ २७ गते काठमाडौंमा सम्पन्न गर्ने निर्णय समेत गरेको छ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ६ : ०८ बजे