२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

पोल्यान्डमा नेपाली कन्सुलर कार्यालय स्थापना



लन्डन — पोल्यान्डको राजधानी वार्सामा विधिवत रुपमा नेपाली कन्सुलर कार्यालय स्थापना गरिएको छ । जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले गत शुक्रबार कन्सुलर अफिस उद्घाटन गरे ।

समारोहमा पोल्यान्डको परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरू, विभिन्न देशका राजदूत तथा अवैतनिक वाणिज्यदूत, पोल्यान्डका विभिन्न विश्वविद्यालयमा कार्यरत प्राध्यापकहरु, पोल्यान्डस्थित नेपाली संघसंस्थाका पदाधिकारी, साहित्यकार तथा उद्योगी व्यवसायीको उपस्थिति थियो ।

नेपाल सरकारद्वारा हालै पोल्यान्डका लागि अवैतनिक वाणिज्यदूत नियुक्त गरिएका डा। बोधराज सुवेदीको पहलमा उक्त अफिस स्थापना गरिएको हो ।

करिब ६३ वर्ष लामो कूटनीतिक, राजनीतिक र सांस्कृतिक सम्बन्ध रहेको पोल्यान्डमा नेपालको इतिहासमा पहिलोपटक नेपालतर्फबाट अवैतनिक वाणिज्यदूत नियुक्त गरिएको थियो ।

समारोहलाई सम्बोधन गर्दै पोल्यान्डका लागि गैरआवासीय राजदूत समेत रहेका जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले कन्सुलर अफिस स्थापनापछि नेपाल तथा पोल्यान्डबीच सांस्कृतिक तथा आर्थिक सम्बन्ध मजबुत हुने विश्वास व्यक्त गर्दै पोल्यान्डमा बसोबास गर्ने नेपालीहरुलाई पनि सहयोग पुग्ने बताए।

नवनियुक्त वाणिज्यदूत सुवेदीले पोल्यान्डमा रहेका सम्पूर्ण सामाजिक संघसंस्थालाई मिलाएर नेपाल र नेपालीको हकहितमा निरन्तर लागि पर्न सबैसँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता जाहेर गरे ।

गएको ३३ वर्षदेखि पोल्यान्डलाई कार्यक्षेत्र बनाउँदै आएका डाक्टर बोधराज सुवेदी पोल्यान्डस्थित नेपालीहरुको हकहितका लागि क्रियाशील रहँदै आएका छन्। उनी गैरआवासीय नेपाली संघ पोल्यान्डका संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक साथै पोलिश(नेप्लिज फाउन्डेसनका अध्यक्ष पनि हुन्।

चिकित्सा क्षेत्रमा लामो समयदेखि कार्यरत डा। सुवेदीले पोल्यान्डमात्र नभई युरोपमा रहेका नेपालीलाई पनि सेवा दिँदै आएका छन् । सन् १९९० अघि दशजना भन्दा पनि कम नेपाली बसोबास गर्ने पोल्यान्डमा अहिले नेपालीको संख्या चारदेखि पाँच हजार रहेको अनुमान छ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ८ : ४१ बजे