२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

बेलायतमा २५ दिनदेखि नेपाली युवक बेपत्ता, हत्या आशंकामा एक पक्राउ



लन्डन — बेलायतको अल्डरसटबाट गत १ डिसेम्बरदेखि हराइरहेका एक नेपाली युवालाई प्रहरी र नेपाली समुदाय मिलेर खोजी गरिरहेका छन् ।

आइतबार अल्डरसट नजिकको जंगलमा चार जना प्रहरीसहित परिवारजन र एनआरएनए यूके पदाधिकारीहरू खोजीमा जुटेका छन् ।

प्रहरीले अनुसन्धानका क्रममा अल्डरसटस्थित नेपालीका केही घरसमेत खानतलासी गरेको एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले जनाए । उनले प्रहरीको खोजी कार्यमा आफ्ना तर्फबाट सक्दो सहयोग गरिने पनि बताए ।

ह्याम्पसायर तथा आइल अफ वाइट प्रहरीले गत शुक्रबार किरण पुनको हत्या आशंकामा ३६ वर्षीय एकजनालाई अल्डरसटबाट पक्राउ समेत गरेको छ ।

बेलायतको वील्सायर एम्सबरी निवासी भूतपूर्व गोर्खा तीर्थबहादुर पुनका ३६ वर्षीय छोरा किरण गत १ डिसेम्बर बिहीबार साढे ७ बजे अल्डरसट रेलवे स्टेशनमा बसबाट ओर्लिएको देखिएका थिए । त्यसयता उनी बेपत्ता छन् ।

५ फिट ८ इन्च अग्ला उनको पातलो जीउ, कालो छोटो कपाल, खैरो आंखा र चिउंडोमा दाग रहेको प्रहरीले बताएको छ ।

प्रहरीले किरणलाई देखेका वा उनबारे कुनै जानकारी भए सम्पर्क राख्न आग्रह गरेका छन् । ४४२२०५१०९९२ रिफरेन्स दिएर १०१ मा कल गर्न प्रहरीको अनुरोध छ ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ८ : ३७ बजे