३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

तिलोत्तमाको नमस्ते एकेडेमीका विद्यार्थीले देखाए विभिन्न प्रतिभा



बुटवल । रुपन्देहीको तिलोत्तमा–७ स्थित नमस्ते एकेडेमीमा एकदिने क्रियटिभ फेस्टिभल सम्पन्न भएको छ । एकेडेमीमा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा विद्यालय प्रांगणमा भएको फेस्टिभलमा विद्यार्थीहरुले विभिन्न प्रतिभा प्रदर्शन गरेका छन् । ‘विद्यालय नै विद्यार्थीको पहिलो घर’ अवधारणालाई आत्मसात गरी पाँच वर्षदेखि सञ्चालित नमस्ते एकेडेमीमा विद्यार्थीमा अन्तरनिहित सिर्जनशील प्रतिभाहरु प्रष्फुटनका लागि क्रियटिभ फेस्टिभल आयोजना गरिएको हो । नमस्ते एकेडेमी केही वर्षयता अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त द ब्रिटिस कलेजसंगको सहकार्यमा सञ्चालित हुँदै आएको छ ।

विद्यालयमा कार्यरत ब्रिटिस शिक्षक मार्टिन स्कार्बकको प्रत्यक्ष संयोजनमा सञ्चालित फेस्टिभलको लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वीरबहादुर रानाले उदघाटन गरेका थिए । सो अवसरमा बोल्दै मन्त्री रानाले सरकारले गुणस्तरीय र व्यावहारिक शिक्षाका लागि निजी विद्यालयबाट सरकारले सिक्नुपर्ने बताए । नमस्ते एकेडेमीले विद्यार्थीकेन्द्रित र व्यावहारिक तथा जीवनउपयोगी शिक्षालाई प्राथमिकता दिएकोमा सराहना गर्दै मन्त्री रानाले अब परम्परागत ढर्राको पढाईले बदलिंदो युगमा प्रतिस्पर्धा गर्न नसकिने बताए ।

ब्रिटिस एजुकेशन ग्रुपका निर्देशक महेन्द्र कंडेल, नमस्ते एकेडेमीका निर्देशक डिल्लिनारायण पाण्डेय, प्राचार्य जिग्मे शेर्पाले एकेडेमीले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि पाठ्यक्रमका अलावा अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई उनीहरुकै रुचि र क्षमता अनुसार सहभागी गराउँंदै आएको बताए । कक्षा १२ की छात्रा दिपिका न्यौपानेले यो कार्यक्रम विद्यार्थीको नेतृत्वमा भएको बताइन् । कार्यक्रममा प्ले ग्रुपदेखि कक्षा १२ सम्मका चार सय बढी विद्यार्थीले गायन, नृत्य, नाटक , आर्ट, क्राफ्ट ,पेन्टिङ्, कम्प्युटर गेम, खेलकुद प्रतियोगिता, फुड मेलाको प्रदर्शनी गरेका विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुंवरले जानकारी दिए ।

विद्यार्थीको सिर्जनात्मक क्षमता उजागर गर्न विद्यार्थीकै अग्रसरतामा यस्तो फेस्टिभल पहिलोपटक आयोजना भएको र यसले विद्यार्थीलाई थप सिर्जनशील र खुशी बनाएको विद्यालयका प्राचार्य जिग्मे शेर्पाले बताए । विद्यार्थीको थरिथरिका प्रतिभा र क्षमता देखेर आफूहरु निकै खुशी भएको बुटवलका एक अभिभावक कृष्ण रिमालले बताए ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ८ : २६ बजे