१० पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रसहित साना दलहरुसँग सत्ता भागबण्डा गर्दा नेकपा एमालेले राष्ट्रपति पद पाएको छ ।
०७४ कै जस्तो मोडलमा राष्ट्रपति एमाले र उपराष्ट्रपति माओवादी केन्द्रले लिँदैछन् भने सभामुख, प्रधानमन्त्रीसँग आलोपालो गर्ने सैद्धान्तिक सहमति जुटेको छ । तर भागबण्डाले अन्तिम रुप लिन बाँकी रहेको नेताहरुले बताएका छन् । ‘अहिले सरकार गठनमा मात्रै सहमति जुटेको छ । बाँकी छलफल क्रमशः गर्छौं’, माओवादी केन्द्रका एक नेता भन्छन् ।
राष्ट्रपति चयनको समय अझै एक महिना भन्दा बढी छ । तर यसअघि राष्ट्रपतिबारे धेरै चर्चा भएकाले एमालेबाट मुलुकको सर्वोच्च पदमा को जान्छन् भन्ने चासो बढेको छ ।
एमालेका एक नेताका अनुसार, राष्ट्रपतिका लागि तीन जना भन्दा बढी नेताको नाममा छलफल हुने सम्भावना छ । दुई कार्यकाल भन्दा बढी राष्ट्रपति हुन नपाइने संवैधानिक व्यवस्थाका कारण विद्यादेवी भण्डारी यो कार्यकाल पूरा गरेपछि विदा हुँदैछिन् ।
आकस्मिक रुपमा नयाँ गठबन्धन बनेकाले पार्टीभित्र यसबारेमा छलफल नभएको र अध्यक्ष केपी शर्मा ओलीको चाहनाबारे पनि थाहा नभइसकेको एमाले नेताहरु बताउँछन् ।
भण्डारी तेस्रोपटक राष्ट्रपति हुन नपाउँदा एमालेबाट सुवास नेम्वाङ धेरै सम्भावना भएको नेतामा पर्ने एमालेका एक नेता बताउँछन् । ‘पार्टीभित्रको भूमिका र विगतको अनुभवले पनि उहाँ उपयुक्त नेता हो’, ती नेता भन्छन् । संविधानसभाका अध्यक्ष र सभामुखमा लामो अनुभव बोकेका नेम्वाङले आफैं पनि उक्त पदमा जान चाहेका छन् ।
नेम्वाङपछिको सम्भावना भएका नेतामा अमृतकुमार बोहरा र अष्टलक्ष्मी शाक्य पनि पर्छन् । बोहरा अहिलेको एमाले निर्माणको संस्थापक नेता नै हुन् । बोहरा अहिले एमालेको अनुशासन आयोगका अध्यक्ष छन् ।
समकालीन राजनीतिमा शाक्य तुलनात्मक लामो अनुभव र संघर्ष गरेकी नेतृ हुन् । दोहोरिएर एमाले उपाध्यक्ष रहेकी शाक्य गत वर्ष एमाले विभाजन हुँदा ओलीलाई साथ दिएकी थिइन् ।
यस्तो छ मतभार
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा प्रतिनिधि सभा सदस्य, राष्ट्रिय सभा सदस्य र प्रदेश सभा सदस्यहरु मतदाता हुन्छन् । मतभार भने फरक–फरक हुन्छ ।
अघिल्लोपटक संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ थियो । यसपटक बढेर संघीय सांसदको ८७ र प्रदेश सांसदको ५३ भएको छ । जनसंख्या अनुसार मतभार तय गरिन्छ । जसअनुसार राष्ट्रपति र उपराष्ट्रपतिको चुनावमा कुल मतभार ५८ हजार २०८ हुन्छ ।