३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

ह्वात्तै घट्यो मोबाइल फोनको बिक्री, गोदाममा थन्किए



हाम्रो रोजगारी, काठमाडौं। मागमा अत्यधिक गिरावटसँगै मोबाइल फोनको बिक्री ४० प्रतिशतभन्दा बढीले घटेको छ। कोरोनाकालमा अत्यधिक चम्किएको स्मार्टफोन बजार अहिले भने मन्दीको चपेटामा परेको छ।
मिड रेन्ज फोनहरुको बिक्रीले धानेको नेपाली स्मार्टफोन बजार अहिले त्यही रेन्जको फोनको बिक्री घट्दा निर्माण सामग्रीसहित अन्य क्षेत्रमा झैं धरमराएको छ। सरकारले गत वैशाखदेखि मंसिरसम्म महँगा स्मार्टफोनहरुको आयातमा प्रतिबन्ध लगाएपछि त्यो रेन्जको व्यापार शून्य छ। स्टकमा भएका बाहेक नयाँ प्रिमियम सेट आयात हुन सकेको छैन।

मोबाइल फोन इम्पोर्टर्स एसोसिएसन तथा सामसङ मोबाइलको आधिकारिक बिक्रेता आइएमएस ग्रुपका अध्यक्ष दीपक मल्होत्राले स्मार्टफोनको माग ४० प्रतिशतले घटेको बताए।

ुगतवर्षको तुलनामा अहिले मोबाइल फोनको बिक्री ४० प्रतिशतले घटेको छ। मान्छेले व्यापार व्यवसाय गर्न पैसा पाइरहेको छैन। बैंकको ब्याजदर अत्यधिक बढेको छ। सबैतिर अस्तव्यस्त भएको अवस्थामा त्यसको असर मोबाइल फोनको व्यापारमा पनि परेको छ,ु मल्होत्राले बिजमाण्डूसँग भने, ुमहँगा फोनहरुको आयात खोल खोल भनेर लामो समय करायौं, पुसदेखि आयात त खुल्यो। तर, मोबाइल फोनको माग नै घट्न पुग्यो।ु

यता मोबाइल वितरकहरुको संस्था नेपाल मोबाइल वितरक संघ पनि बिक्री घटेको स्वीकारेको छ। मोबाइल आयातकर्ताहरुले कोरोना महामारीकालमा माग उच्च हुँदा हौसिएर स्मार्टफोन आयात गरेका थिए। मंसिरमा आयात न्यून विन्दुमा झरेको नेपाल मोबाइल वितरक संघका अध्यक्ष दिनेश चुल्याड्योले जानकारी दिए। एक हदसम्म फोनको माग घटे पनि आयातमा जसरी गिरावट आएको छ, त्यो विन्दुमा भने नघटेको उनी दाबी गर्छन्।

ुमोबाइल फोन आयात गर्दा नेपाली आयातकर्ताहरुले भारत, चीनलगायतबाट फोन मगाउँदा १ हप्तापछि चाहियो भनेर हुँदैन। आयातकर्ताहरुले ६ महिनादेखि १ वर्षसम्मको प्रोजेक्सन हेरेर आयात गर्नुपर्छ। आफू मातहतको वितरकहरुसँग टार्गेट लिएर फोन निर्माता कम्पनीहरुलाई माग पूर्वानुमान दिएर आयात संख्या यकिन गर्नुपर्छ,ु चुल्याड्योले बिजमाण्डूसँग भने, ुपछिल्लो समय भने मोबाइलको बिक्रीभन्दा बजार एकदमै घट्दा पनि आयातकर्ताहरुले ठूलो संख्यामा भित्र्याउनु पर्‍यो। आएका फोनहरु आयातकर्ता, वितरकदेखि रिटेलरसम्म स्टकमा बस्दा अहिले आयात कम भएको हो।ु

स्थानीय बजारमा मोबाइल फोनको माग घटेको स्वीकार्दै डराइहाल्नुपर्ने अवस्था भने नरहेको उनी बताउँछन्। कोरोना महामारीको समयमा जसरी मोबाइल आयात उच्च विन्दुमा पुग्यो त्यसैको असर अहिलेसम्म देखिरहेको मोबाइल व्यवसायी बताउँछन्।

ुकोरोनाको समयमा मोबाइलको माग एकदमै उच्च थियो। त्यहीअनुसार सामान पुर्‍याउन सकिएन। आयातकर्ताहरुले फोनको माग देखेर निर्माताहरुलाई बढी संख्याको प्रोजेक्सन दिए। माग देखेर गरेको उच्च प्रोजेक्सन अनुसार माग भएन। घट्यो। अहिले त्यही सामान स्टकमा बसेकाले आयात घटेको देखिएको हो,ु चुल्याड्योले भने।

अहिले पनि स्मार्टफोन र बार फोन जोडेर मासिक २ लाख नयाँ सेट एक्टिभेट भइरहेको तथ्यांक उनले सुनाए। कोरोनाकालमै साना फोनहरुको आयात उच्च देखिएको बताउँदै उनले त्यस्ता फोनहरु भारत निकासी भइरहेकाले आयात बढी भएको बताए।

गत मंसिरको तुलनामा ८४ प्रतिशतले घट्यो आयात

२०७८ को मंसिरमा २ अर्ब ६१ करोड रुपैयाँबराबरको ४ लाख ५८ हजार ६५७ थान फोन आयात भएको थियो। तर, यो वर्षको मंसिरमा १ अर्ब ९ करोड रुपैयाँबराबरको जम्मा ७४ हजार ४२३ थान फोन आयात भएको भन्सार विभागको तथ्यांकमा छ।

गत मंसिरमा सरकारले फोन आयातबाट ४१ करोड ३७ लाख रुपैयाँ भन्सार संकलन गरेकोमा यो वर्षको मंसिरमा घटेर २० करोड ५२ लाख रुपैयाँमा सीमित भएको छ। गतवर्षको मंसिर र यो वर्ष मंसिरको तुलना गर्दा मोबाइल फोन आयात संख्या करिब ८४ प्रतिशतले घटेको छ।

विभागको तथ्यांकअनुसार गतवर्षको पहिलो पाँच महिनामा करिब २३ अर्ब रुपैयाँबराबरको ३० लाख ६० हजार थान सेट आयात भएको थियो। चालु आवको पहिलो पाँच महिनामा ११ अर्ब २० करोड रुपैयाँबराबरको ८ लाखभन्दा बढी सेट आयात भएको विभागले जनाएको छ।

सरकारले गत आवको पहिलो पाँच महिनामा ३ अर्ब ६३ करोड रुपैयाँ भन्सार संकलन गरेकोमा चालु आवको पाँच महिनामा घटेर २ अर्ब ९ करोड रुपैयाँमा सीमित भएको छ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ६ : ४३ बजे