३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

हतारहतार ६०० एलसी खोलिएको किया बिक्री नै भएन, डिलरलाई बेच्न दबाब



हाम्रो रोजगारी, काठमाण्डौँ । आयात प्रतिबन्धको सूचना पाएपछि कन्टिनेन्टल ट्रेडिङले हतार-हतार  ६०० किया गाडीको एलसी खोल्यो। माथिल्लो तहसम्म पहुँच भएका कन्टिनेन्टल समूह अध्यक्ष सुहृद घिमिरेले आयात प्रतिबन्धको सूचना पाउनेवित्तिकै विभिन्न बैंकबाट एलसी खोलेका थिए।

 



आयात प्रतिबन्धपछि अरुको गाडी नआउने र आफ्नो मात्रै बिक्री हुने अनुमान कन्टिनेन्टल समूहको थियो। तर हतार-हतार एलसी खोलेर ल्याएको गाडी बिक्री हुनै सकेको छैन।

बिक्री नभएपछि कियाका शोरुममा सोनेट र सेल्टस देखिन्छन्। यतिबेला अरु कम्पनीका गाडीको शोरुममा फाट्टफुट्ट एकाध युनिट मात्रै छन्, कियाका शोरुमसँगै गोदाममा पर्याप्त संख्यामा सोनेट र सेल्टस छन्।

हतारिँदै आयात गरेर अपेक्षाअनुसार बेच्न नसक्दा कन्टिनेन्टल ट्रेडिङले अहिले डिलरहरुलाई बिक्री बढाउन दबाब दिइरहेको छ। ‘हामीलाई महिनामा १५/१६ वटा गाडी बेच्न दबाब छ,’ एक डिलरले भने, ‘बजारमा आर्थिक मन्दी छ। बैंकले अटो लोन दिन कस्टमरमा रुचि नदेखाउँदा बिक्री कसरी बढ्छ?’

कम्पनीले डीईए सोनेट ३८० थान र किया सेल्टोस २८० थान गरी कुल ६३० थान गाडी आयातका लागि बैंकबाट एलसी खोलेको थियो। कम्पनीले कुल ७० करोड ८ लाख ८६ हजार ८७२ रुपैयाँमा गाडी किन्ने गरी एलसी खोलेको थियो। कन्टिनेन्टलले हतार गरिरहँदा पेट्रोल-डिजल इन्जिन गाडी बेच्ने अरु कम्पनीले भने एलसी खोल्नै पाएका थिएनन्।

कम्पनीले यसपालीको दसैंमा १०-२० वटा मात्र गाडी बिक्री भएको जनाएको छ। तर बजारमा कियाबाहेकका कम्पनीसँग स्टकमा धेरै गाडीहरु नभएको अटो व्यवसायीहरु बताउँछन्। कियासँग गाडी धेरै भए पनि हाल कम्पनी ग्राहक कुर्दै बसिरहेको छ। कम्पनीका एक कर्मचारीले गाडी धेरै भए पनि किन्ने ग्राहक नै नआएको बताए।

‘बैंकले पनि सपोर्ट गरेको छैन। क्यासमा गाडी किन्ने ग्राहक कम हुन्छन्,’ उनले भने। कियाले सेल्टस र सोनेट बढी मगाएको थियो। कम्पनीले ६०० मध्ये कति वटा बिक्री भयो भन्ने खुलाएको छैन। तर कम्पनीले कर्पोरेट सेक्टरमा भने ४०-५० वटा सोनेट मात्र बिक्री गर्न सकेको छ। यसमा पनि कम्पनीले आन्तरिक रुपमा फाइनान्सिङको व्यवस्था मिलाएर बिक्री गरेको थियो।

यस्तै कम्पनीले केही युनिट गाडीहरु क्रेडिटमा दिएको थियो। डिलरहरुले डाउन पेमेन्टमा नै गाडीहरु बिक्री गर्ने गरेका छन्। यसरी बिक्री भएका गाडीको पैसा समेत उठाउन सकेको छैन। समूहका अध्यक्ष सुहृद घिमिरेले अघिल्लो वर्ष अघिल्लो वर्षको बिक्री हेरेर गाडी आयात गरेको बताउँदै तर अहिले बैंक ब्याजदर र तरलताले बिक्री गर्न कठिन भएको स्वीकारे। ‘गत वर्ष जति गाडी ल्याए पनि बिक्री गरेर सकिएको थियो। त्यही आधारमा गाडी आयात गरिएको थियो,’ उनले बिजमाण्डूसँग भने, ‘यो वर्ष तरलता र ब्याजदरका कारण बेच्न सकिएन।’

डिलरहरुकै सहयोगमा एलसी खोलिएको थियो

कियाको गाडी बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले ती गाडीहरुको एलसी खोल्ने बेलामा डिलरसँग छलफल गरेर निर्णय लिएको थियो। त्यस समय डिलरहरुले पनि थोरै नाफा कमाउने होडमा केहीले २०-४० युनिटसम्म गाडी बिक्री गर्ने गरी जिम्मा लिएका थिए।

त्यही आधारमा कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले पनि आयत प्रतिबन्ध लाग्नु अगावै ६०० भन्दा धेरै गाडीको एलसी खोलेको थियो। आयातमा प्रतिबन्ध लागेको केही महिनामा कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले गाडीको मूल्य गत भदौमा बढायो।

कम्पनीले सोनेटको एचटीई पेट्रोल भेरियन्टमा १ लाख रुपैयाँले मूल्य बढाएर ३७ लाख ९० हजार रुपैयाँ बनाएको थियो। यसअघि एचटीई पेट्रोल भेरियन्टको मूल्य ३६ लाख ९० हजार रुपैयाँ थियो। त्यही बढाएको मूल्यले डिलरहरु १-२ महिनामै धेरै नाफा हुने देखेर मक्ख थिए।

एक मूल्य बढ्ने र अर्को मार्जिन राम्रो बस्ने आशामा उनीहरुले कन्टिनेन्टल ट्रेडिङले एलसी खोल्न सहयोग गरेका थिए। त्यही अनुसार कम्पनी गाडी बिक्री हुनेमा ढुक्क थियो। तर, उनीहरुको अपेक्षाअनुसार गाडीहरु बिक्री हुन सकेन।

बिक्री भएका गाडीको पनि पेसा उठाउन गाह्रो अवस्था आयो। बैंकहरुले गाडी खरिदका लागि ऋण प्रवाह गर्न छाडेदेखि बिक्री हुन सकेन। त्यस्तै बैंकहरुले ब्याजदर पनि दोब्बर बनाए।

डिलरहरुले पनि अहिले आफूहरुले व्यापारीको पक्षबाट गरेको निर्णय भनेर गल्ती स्वीकार गर्न थालेका छन्। तर त्यो गल्ती हामी र कन्टिनेन्टल ट्रेडिङ दुवैको पक्षबाट भएको उनीहरुको भनाइ छ। अहिले एउटा डिलरसँग २० वटा भन्दा धेरै गाडीहरु स्टकमा छन्।

एक डिलर भन्छन्, ‘हामी दायाँबायाँ केही सोचेनौं तर व्यापारको हिसाबले नाफा देखेको थियौं। बजारमा गाडी अरुको नभएपछि हाम्रो गाडी बिक्री हुन्छ भन्ने हाम्रो अपेक्षा थियो। त्यही अनुसार गाडी बिक्री भएको भए व्यापार राम्रो हुन्थो र त्यसो हुन सकेन।’

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ६ : ३४ बजे